व्यवसायीले ढुवानी नगर्दा दाङमा पेट्रोलियम पदार्थ (इन्धन) अभाव भएको छ । व्यवसायीले गत गत असार २६ देखि ढुवानी ठप्प बनाएका हुन् ।
नेपाल आयल निगम तुलसीपुर वितरण केन्द्रका सूचना अधिकारी सूर्यप्रसाद आचार्यका अनुसार आइतबार, सोमबार मंगलबार भने ९-९ हजार लिटर पेट्रोल आए पनि त्यो एकैछिनमा सकिएको थियो । डिजेल भने २६ गतेदेखि एकपटक पनि आएको छैन ।
जिल्लामा दैनिक ३२ हजार लिटर पेट्रोल खपत हुन्छ । व्यवसायीले पानी परे पेट्रोलियम पदार्थ नोक्सानी हुने भन्दै ढुवानी रोकेका हुन् । नेपालगन्जदेखि दाङसम्म पेट्रोलियम पदार्थ ल्याउँदा ११ डिग्रीसम्मको तापक्रम फरक हुन्छ । आचार्यका अनुसार १ डिग्री तापक्रम कम भए एक ट्यांकरमा १५ लिटरसम्म डिजेल र २१ लिटरसम्म पेट्रोल नोक्सान हुन्छ । यहीअनुसार नेपालगन्जबाट दाङ आउँदा करिब २५० लिटर पेट्रोल तथा डिजेल नोक्सानी हुने गरेकाले पनि व्यवसायीले योबेला ढुवानी गर्न नमानेका हुन् । केही पेट्रोलपम्पले भने नेपालगन्जबाट आफैँ पेट्रोल ढुवानी गर्दै आएका छन् । देउखुरी क्षेत्रमा पनि पेट्रोलपम्पले सीधै ढुवानी गर्दै आएका छन् ।