प्रदेश २ सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ । प्रदेशको समग्र विकासका लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको बताए ।
बैंक स्थापनाका लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष हरिवंश झाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ ।
कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्रीका आर्थिक सल्लाहकार राजकुमार सिंह, जनकपुरस्थित संघीय कोलेनिकाका प्रमुख वीरेन्द्र मिश्र, राष्ट्र बैंक जनकपुरका प्रतिनिधि, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत र आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत सञ्जय सरदार सदस्यसचिव छन् ।
कार्यदलले बैंक स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणा पत्र तयार गरी प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी पाएका छन् । कार्यदलका संयोजक हरिवंश झाले अवधारणापत्र माथिको छलफल सुरु भइसकेको र सम्भवतः यसै साता अन्तिम रूप पाउने बताए ।