कुखुराको अन्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट २ सय रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अन्डाको मूल्य २ सय ८० रुपैयाँ पुगेको छ । सानो अन्डाको मूल्य १ सय १५ बाट बढेर २ सय ३० रुपैयाँ पुगेको छ ।
नेपाल अन्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा १० रुपैयाँ पर्छ । बढेको बिक्री मूल्य समग्रमा प्रतिगोटा ८ रुपैयाँ ५० पैसा पर्छ । हाल दैनिक ४० लाख हाराहारी अन्डा उत्पादन हुन्छ । यो संख्या ५५ लाख पुगेकोमा क्रमशः घट्दै आएको कँडेलको भनाइ छ । अन्डाको मूल्य कम भएपछि धेरैले माउ कुखुरा बिक्री गरेका छन् । यससँगै चर्को गर्मीका कारण उत्पादनमा कमी आएको छ ।
पछिल्लो समय कृषकले चल्ला राख्नसमेत छाडेका थिए । यसबाट अन्डा उत्पादनमा क्रमशः गिरावट हुँदै जाने अनुमान गरिएको छ । संघका केन्द्रीय सचिव मदन पोखरेलले अन्डाको मागअनुसार आपूर्ति हुन कठिन भएकाले क्रमशः मूल्यवृद्धि हुँदै जाने अनुमान गरिएको बताए । ३ वर्षअघि अन्डाको मूल्य बढेर प्रतिक्रेट रु ३ सय ६० पुगेको थियो । गत एक वर्षयता भने खर्च नधान्ने गरी मूल्यमा गिरावट आएको कृषकको भनाइ छ ।
पोख्रेलका अनुसार नेपालमा ७ हजार कृषकले कुखुरा पाल्ने गरेको तथ्यांक छ । जहाँ १ लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । लेयर्स कुखुरामा मात्र १ अर्बभन्दा बढी लगानी भएको पोखरेलको भनाइ छ । दानाको मूल्य र बैंकको ब्याज बढ्दै जाने र अन्डाको मूल्य घट्दै जाँदा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेकोमा क्रमशः मूल्यवृद्धि हुन सके टिक्नसक्ने उनले बताए । -रासस