सङ्घीय गणतन्त्र जर्मनीले ३ परियोजना कार्यान्वयनका लागि नेपाललाई ३ अर्ब २ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
ग्रामीण सौर्य ऊर्जा प्रवर्द्धन, सहरी क्षेत्रमा मातृ तथा शिशु स्याहार तथा ग्रामीण एवं अर्धसहरी क्षेत्रमा दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न जर्मनीले अनुदान दिन लागेको हो । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव राजन खनाल र नेपालका लागि जर्मनीका राजदूत रोलान्ड सेफेरले अर्थ मन्त्रालयमा शुक्रबार हस्ताक्षर गरे । त्यस अवसरमा राजदूत सेफेरले अनुदानस्वरुप आफ्नो देशले प्रदान गर्न लागेको उक्त रकमले जर्मनी र नेपालबीच लामो साझेदारी र सहकार्यलाई प्रतिबिम्बित गरेको बताए । 'यो लामो समयदेखिको पारस्परिक सहयोगको प्रतिफल हो,' उनले भने ।
सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जर्मनीबाट निरन्तररुपमा प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै स्वास्थ्य, ऊर्जालगायत क्षेत्रमा जर्मनीले सहायता गरिरहेको बताए । -रासस