भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शुक्रबार लोकसभामा नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट पेश गरेकी छन् । राष्ट्रपति रामनाथ कोविन्दसँगको भेटपछि उनले आर्थिक वर्ष २०१९/२० का लागि बजेट पेश गरेकी हुन्।
बजेटमा मध्यम वर्गका लागि त्यतिधेरै राहत नदिएको बताइएको छ। यसअनुसार २ देखि ५ करोडभन्दा बढी आय भएकालाई ३ प्रतिशत अतिरिक्त कर लगाइएको छ भने ५ करोडभन्दा बढी आय भएकालाई ७ प्रतिशत कर लगाउने प्रस्ताव गरिएको छ।
यस्तै, एकवर्षमा बैंक खाताबाट एक करोडभन्दा बढी रुपियाँ निकाल्दा २ प्रतिशत टीडीएस लगाइएको छ । उड्डयन, बिमा, मिडिया र एनिमेशन क्षेत्रमा १०० प्रतिशत नै प्रत्यक्ष विदेशी लगानी रहने प्रस्ताव गरिएकोछ । यस्तै, मोदी सरकारले १ लाख २५ हजार किलोमिटर सडक बिस्तारको लक्ष्य लिएको छ, जसका लागि आगामी ५ वर्षमा ११.६अर्ब डलर खर्च हुने अनुमान गरिएको छ ।
अर्थमन्त्री सीतारमणले पेट्रोल र डिजलमा प्रतिलिटर एक रुपियाँ एक्साइज कर लगाउने प्रस्ताव गरेकी छिन् ।
यस्तै, ४५ लाखको घर किन्दा १.५ लाख रुपियाँको छुट दिइने छ भने हाउजिङ लोनको ब्याजमा पाउने छुटलाई बढाएर साढे ३ लाख बनाइएको छ । यसका साथै विद्युतीय सवारी किन्दा साढे २ लाखसम्मको छुट दिइने जनाइएको छ।
अर्थमन्त्री सीतारमणले साना व्यापारीलाई पेन्सनको घोषणा पनि गरेकी छन् । उनले ५९ मिनेटमै सबै पसलेलाई ऋण उपलब्ध गराइने बताइन्। यसबाट ३ करोडभन्दा बढी साना पसले लाभान्वित हुने बताइएको छ ।
यस्तै, सुनको भन्सार कर साढे २ प्रतिशतले बढाइएको छ । पहिलो १० प्रतिशत रहेकोमा अब साढे १२ प्रतिशत पुगेको छ । यसबाट भारतमा सुनको भाउ वृद्धि हुनेछ ।