त्रिभुवन विमानस्थल आजदेखि २१ घन्टा खुल्ने भएको छ। विमानस्थलको रन वे मा पुरानो पिच भत्काएर नयाँ पिच राख्नको लागि गएको चैत १८ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर पिच निर्माणको काम भैरहेको थियो।
रन वे को काम लगभग सकिएकाले सोमबारदेखि विमानस्थल २१ घन्टा चलाउँने तयारी गरिएकाे विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
विमान कम्पनीले पुरानै तालिका अनुसार उडानको समय मिलाएको पनि उनले बताए।
गएको वर्षको जेठ ७ गतेदेखि विमानस्थल बिहान ३ बजेदेखि राति १२ बजेसम्म २१ घन्टा खुलाउन थालिएको छ। तर आन्तरिक उडानको लागि भने बिहान ५ बजे नै विमानस्थल खोलेर उडान गरिँदै आएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० वटा अन्तर्राष्ट्रिय उडान कम्पनी, १० वटा आन्तरिक उडान कम्पनी र ९ वटा हेलिकप्टर कम्पनीका दैनिक ४ सय उडान र अवतरण हुन्छन्। औसतमा साढे २ मिनेटमा एउटा उडान र अवतरण भैरहेको हुन्छ।
३ हजार ५० मिटर लामो रन वे को ३० देखि ५० सेन्टिमिटर गहिराइसम्मको पिच उप्काएर नयाँ हाल्ने काम लगभग अन्तिम चरणमा पुगेको आयोजना प्रमुख बाबुराम पौडेलले जानकारी दिए।