असार १५, यति वेला धमाधम खेल रोपाई हुनु पर्ने हो तर रुपन्देही जिल्लाका अधिकाश खेत बाझैं छन्। भरिभराउ हुनु पर्ने खेतमा पानीको १ थोपो छैन। रोपाईको चटारो हुनु पर्नेमा चारै तिर उराठ लाग्दो बाँझो खेत मात्र देखिन्छन्। निकै लामो प्रतीक्षा भएपनि मनसुन पुर्णरुपमा सक्रिय नहुँदा रुपन्देहीका कृषक दुखित छन्।
खेतमा पानी हालेर भए पनि रोपाई गर्ने सुरसार गरिरहेका कृषकहरुका लागी भुमिगत पानी पनि सुकेको हुदा रोपाईमा कठिनाइ छ। मध्य असारसम्म खेतीपाती गरिसक्ने अधिकांश किसानहरु वर्षा नभएको कारण निकै छट्पटाएका छन्।
नेपाल कृषिप्रधान मुलुक भए पनि यहाँको अधिकांश खेतीपाती आकाशे पानीको भरमा चल्दै आएको छ। रुपन्देहीमा न्युन सिंचाई सुविधा उपलब्ध छ। यस्तो अवस्थामा मौसमकै भर परेर खेतीपाती गर्नुपर्ने बाध्यता हुन्छ।
मौसमकै कारण उत्पादनमा तलमाथि भइरहने अवस्था रहन्छ। जसको प्रत्यक्ष मार किसानहरुमाथि पर्दै आएको छ। मध्य असारमा पनि प्रयाप्त पानी त परेकै छैन अहिलेसम्म रासायनिक मल समेत उपलब्ध हुन सकेको छैन।
नेपाली किसानलाई प्रकृतिले त ठग्यो नै राज्य र सरकारबाट पनि ठगिदै आएका छन्। अहिले उनीहरुले आफ्नो पैसा खर्च गरेर मलसमेत किन्न पाइरहेका छैनन्। मलमा अनुदान दिने कुरा त त्यत्तिकै हराएर गएको छ।
उल्टै सीमावर्ती भारतीय बजारबाट कालो वजारीमा किन्नुपर्ने बाध्यतामा कतिपय किसानहरु छन्। पानी कहिले पर्ला र खेती शुरु गरौंला भनेर आकाशतिर हेर्दै गरेका किसानहरुले पानी परे पनि मल नपाउने अवस्था रहेको रुपन्देहीको भैरहवाका किसान दिलिप यादवको भनाई छ।
किसानले गर्ने खेतीपाती आफ्नो निजी कृषि कर्म जस्तो देखिए पनि राष्ट्रिय उत्पादनमा सहभागी भएर उनीहरुले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका हुन्छन्।
सरकारले दिने अनुदान बीउ, औजार र कीटनाशक औषधि अहिले पनि हलो जोत्ने किसानसम्म पुग्न सकिरहेको छैन। परम्परागत शैलीकै खेतीपातीले गर्दा यो पेशा निर्वाहमुखी मात्रै बनेको छ।
प्रदेश ५ सरकारले आगामी आर्थिक बर्षको बजेटमा कृषिमा ४ अर्ब ७ करोड रुपैयाँ बजेट छ। प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखी धेरै योजनाहरु ल्याए पनि बिशेषतः कृषिमै आधारित वर्गको मूलभुत समस्याहरुलाई यसले छुन नसकेको आवाजहरु उठन् थालेको छ।
अहिले कृषकलाई ठूला ठूला कुरा हैन कृषिका लागी अति आवश्यक सामाग्री चाहिएको छ। रोपाईको चटारो आई सक्दा समेत कृषकहरुले मल पाउन सकेका छैनन्। बिशेष गरि अहिले डिएपी मलको हाहाकार रहेको छ।
यो समस्या यस बर्षको मात्र हैन्। प्रत्येक बर्ष कृषकहरु यसरी नै १ बोरा डिएपी मलको लागी छटपटिने गरेका छन्। लामो लामो लाइन लाग्ने गरेका छन्। यस्तो अवश्थामा प्रदेश सरकारले मल उपलब्धताको बारेमा केही नबोल्दा कृषकहरुमा निराशा छाएको छ। जिल्ला कृषि कार्यालयका अनुशार रुपन्देहीमा अहिले सम्म १० प्रतिशत मात्र रोपाई भएको छ।
कृषि सामाग्री कम्पनीले पनि अब डिएपी मल खरिद गर्न सम्भव नरहेको बताएको छ। अब जिटुजी प्रक्रियाबाट मात्र मलको आपूर्ति सम्भव रहेको कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय भैरहवाका प्रवन्धक राजेन्द्र कार्कीले बताए।