श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारदेखि ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६’ आयोजना गर्दै छ। युवालाई देशको आर्थिक विकासमा उपयोग गरी रोजगारी सिर्जना गर्ने, आन्तरिक श्रममा युवाको आकर्षण बढाउने सम्मेलनको प्रमुख लक्ष्य रहेको छ।
आइतबार र सोमबार काठमाडौंमा हुने सम्मेलनमा श्रम, रोजगार तथा उद्यम क्षेत्रका अगुवाहरुको सहभागीता रहने मन्त्रालयले जानकारी दिएको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले समापन गर्ने कार्यक्रम रहेको छ। हाल वार्षिक ४ लाख भन्दा बढी नेपाली युवाहरु रोजगारी खेज्दै विदेशिने गरेका छन्। नेपालमा श्रम संस्कृतिको अभाव रहेको छ।
मन्त्रालयले सम्मेलन मार्फत देशमा युवा जनशक्तिको परिचालन र विकासको सम्भावना भएको भन्दै स्वदेशमा नै रोजगारी सृजनाद्वारा युवालाई देशको आर्थिक, सामाजिक र भौतिक विकासमा उपयोग गर्ने, आन्तरिक श्रममा युवाको आकर्षण बढाउने र श्रम सम्बन्ध सुदृढ बनाउने बताएको छ।
सम्मेलनबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विष्टले श्रम र रोजगारीका नवीनतम र सृजनात्मक पाटाहरु उजागर गरी यस क्षेत्रको विकासद्वारा गतिशिल अर्थतन्त्रको निर्माणका लागि सम्मेलन आयोजना गर्न लागेको बताएका थिए।
सम्मेलनमा स्थानीय तहका जनप्रतिनिधि, बिषयविज्ञ, प्राज्ञिक व्यक्तित्व तथा अनुसन्धानकर्ता, रोजगारदाता, तालिम प्रदायक संस्था, नमूना उद्यमीहरु, सहकारी क्षेत्र, श्रमिक युनियनका प्रतिनिधी लगायतका विभिन्न संस्थाका गरी ३ सय ५० जनाभन्दा बढीले सहभागिता जनाउने मन्त्रालयले जानकारी दिएको छ।