सरकारले चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब १६ करोडको बजेट ल्याएको थियो। तर, वर्ष सकिन १९ दिन बाँकी रहँदा ६६.८४ प्रतिशत अर्थात् आठ खर्ब ७९ अर्ब ३३ लाख मात्रै खर्च भएको छ। सरकारले बजेटको लक्ष्य पूरा गर्न बाँकी १९ दिनमा चार खर्ब ३६ अर्ब १५ करोड सकाउनुपर्छ। यसका लागि दैनिक २२ अर्ब ९५ करोड खर्च गर्नुपर्ने हुन्छ। तर, सरकारले अहिलेसम्म दैनिक औसत दुई अर्ब ५४ करोड मात्रै खर्च गरिरहेकाले लक्ष्य पूरा नहुने निश्चित छ।
सरकारले गत फागुनमा मध्यावधि समीक्षा गर्दै बजेटको आकार ११ खर्ब ९९ अर्ब १५ करोड २५ लाख रुपैयाँमा झारेको थियो। संशोधित बजेटको अहिलेसम्म आठ खर्ब ७९ अर्ब ३३ लाख खर्च भएको छ। यो रकम ७३.३० प्रतिशत हो। संशोधित बजेट पनि पूरै खर्च गर्न बाँकी १९ दिनको अवधिमा दैनिक १६ अर्ब ८४ करोड खर्च गर्नुपर्छ।
अर्थ मन्त्रालयका अधिकारीहरूले असारभित्र संशोधित बजेट लक्ष्य पूरा गर्ने दाबी गरेका छन्। यो दाबीलाई पूरा गर्न ११ महिनासम्म खाल्डा परेका सडकमा कालोपत्रे गर्न डोजर र रोलर तेर्स्याउन थालिएको छ, धुले सडकलाई ग्राभेलमा स्तरोन्नति गर्न सुरु गरिएको छ। अर्थका अधिकारीहरूको दाबीअनुसार काम भयो भने असारका बाँकी १९ दिनमा संशोधित कुल बजेटको ४० प्रतिशत खर्च हुनेछ। नयाँ पत्रिका दैनिकमा खबर छ।