भारतका विमानस्थल हुँदै जुनसुकै तेस्रो मुलुक जाँदा नेपाली नागरिकलाई नो अब्जेक्सन लेटर (एनओसी) चाहिने एक वर्षदेखिको नियम भारतीय अध्यागमनले परिमार्जन गरेको छ । अब खाडी क्षेत्रका नौ मुलुकबाहेक अन्यत्र जाँदा नेपाली दूतावास दिल्लीबाट एनओसी बुझाउनु नपर्ने भएको हो । नेपाली दूतावासले ६ असारमा जारी गरेको सूचनाअनुसार अब नेपाली नागरिकले साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, इराक, लिबिया, लेबनान, ओमन र बहराइन जाँदा मात्रै दिल्लीस्थित अध्यागमनमा एनओसी बुझाउनुपर्नेछ । भारतीय अध्यागमनले एक वर्षदेखि भारतका विमानस्थलबाट जुनसुकै तेस्रो देश जाँदा पनि एनओसी चाहिने नियम लागू गरेको थियो ।
नेपाली दूतावास दिल्लीका प्रवक्ता हरिप्रसाद ओडारीका अनुसार भारतको गृह मन्त्रालयले अध्यागमन कार्यालयहरूमा सर्कुलर पठाएर नौ मुलुकबाहेक अन्त जाँदा एनओसी नपर्ने उल्लेख गरेको छ । नेपाली दूतावासलाई पनि यो पत्र पठाएपछि दूतावासले नेपालीमा उल्था गरेर सूचना जारी गरेको छ । नेपाली महिला अरब मुलुकमा गैरकानुनी रूपमा जान रोक्ने भन्दै यो प्रावधान लागू भएको थियो । तर, भारतले अन्य देश जाँदा पनि एनओसी अनिवार्य गरेपछि नेपाली यात्रु मर्कामा परेका थिए ।
नियम परिमार्जनसँगै अब भारत हुँदै श्रीलंका, थाइल्यान्ड, म्यानमार भएर अर्को देश जाँदा एनओसी आवश्यक पर्दैन । यी मुलुक हुँदै खाडी देशमा गैरकानुनी रूपमा महिला पुर्याउन अब सहज भएको भन्दै नेपाली अधिकारीले चिन्ता व्यक्त गरेका छन् । एनओसी लागू हुँदा पनि मर्कामा परिने, लागू नहुँदा नेपाली महिला तस्करी गर्नेलाई फाइदा पुग्ने भन्दै नेपाली अधिकारी द्विविधामा छन् ।
भारतले चीन, हङकङ, मकाउ, पाकिस्तानबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपाली नागरिकलाई भिसा (प्रवेशाज्ञा) अनिवार्य गरेको छ । यसअघि माल्दिभ्सबाट भारत आउँदा पनि भिसा लिनुपर्ने प्रावधान यसपटक हटाएको छ । चीनबाट भारत जाँदा मात्र प्रवेशाज्ञा अनिवार्य थियो भने यस वर्षदेखि देशको संख्या बढाएको छ । यसबारे धेरै नेपाली अनभिज्ञ छन् । तेस्रो देशबाट नेपाल आउन वा नेपाल हुँदै भारत फर्किन भारतीय नागरिकले भने नेपालको भिसा लिनुपर्दैन । नयाँ पत्रिकामा खबर छ।