सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्ने भएको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले जानकारी दिए ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादवले एक साताभित्रै पेट्रोलिमय पदार्थको उत्खननका लागि प्रक्रिया शुरु हुने जानकारी दिए । विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले देशभित्रै पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु हुन लागेको जानकारी दिए ।
यस्तै सरकारले नवलपरासीको धौवादीमा रहेको फलामखानीको उत्खननको प्रक्रियासमेत अगाडि बढाएको उनले जानकारी दिए । उनले उपलब्ध साधनस्रोतको उपयोग गरी बजार अनुगमन गरिएको, गुणस्तरीय वस्तु उपभोक्तालाई उपलब्ध गराउन निरन्तर अनुगमन जारी रहेको बताए ।
निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आयात र बिक्रीका लागि सरकारले सहजीकरण गर्न लागेको र अध्ययन समिति गठन गरिएको जानकारी दिँदै मन्त्री यादवले थप पेट्रोलपम्प खोल्नका लागि सूचना आह्वान गरिएको र यही असार १३ गतेसम्म आवेदनको समयावधि रहेको बताए ।
मन्त्री यादवले नेपालमा लगानीको वातावरण बनेको स्पष्ट पारे । वैदेशिक तथा आन्तरिक लगानीको प्रवद्र्धनका लागि सरकारले आवश्यक ऐन, नियम तथा कानूनको प्रबन्ध गरेको र सोहीअनुसारको वातावरण बनाएको बताए ।