सरकारले विदेशबाट आयात हुने आलु, प्याजलगायत तरकारीजन्य वस्तुमा विषादी छैन भनी प्रमाणित गरेपछि मात्रै भन्सार गर्नेे प्रावधान लागू गरेको छ । सरकारको यो प्रावधानसँगै भैरहवा भन्सार नाका हुँदै नेपाल भित्रने सयौं मालवाहक ट्रक सीमा नाकामा अलपत्र भएका छन्।
सरकारले आवश्यक तयारी नै नगरी हतारमा नियम ल्याउँदा व्यवसायीदेखि उपभोक्तासम्मले दुःख पाउनु परेको छ । सरकारी नियमका कारण भन्सारभित्र छिरेका तरकारी तथा फलफूल कुहिने अवस्थामा पुगेका छन् । यतिबेला देशैभरका भन्सार कार्यालयले विषादी अवशेष परीक्षण नगरेसम्म तरकारीजन्य पदार्थको भन्सार गरेका छैनन् । जसका कारण शुक्रबारदेखि नेपालमा आलु, प्याजलगायत तरकारी र फलफूल भित्रिएका छैनन्।
तरकारी लिएर आएको एक भारतीय ट्रक चालकका अनुसार ३ दिनदेखि तरकारी र फलफूल भन्सार यार्डमै अलपत्र छन् । सो सामग्री अब २ दिनमा बजारमा त्यही सडेर गल्ने उनले बताए ।
सरकारले असार २ गते नेपाल राजपत्रमै सूचना प्रकाशित गरि ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक बिषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गरेर मात्र गर्नुपर्ने ब्यवस्था गरेको छ ।
सोही ब्यवस्थाका कारण भैरहवा भन्सार कार्यालयले जिवनाशक बिषादीको अवशेष परीक्षण प्रमाणपत्र भएमात्र भन्सार पास गर्ने जनाएको छ । यस बिषयमा भन्सार कार्यालयका आधिकारिक व्यक्ति पनि क्यामेराअगाडि मुख खोल्न मानेका छैनन् । ‘जीवनाशक बिषादीको अवशेष परीक्षण गरेर ल्याए हामीले भन्सार गर्छौ अन्यथा गर्न मिल्दैन ।’ क्यामरामा बोल्न नमानेका भैरहवा भन्सार कार्यालयमा सूचना अधिकारी कलिराम पौडेलले भने ।
तर जीवनाशक बिषादीको अवशेष परीक्षण प्रमाणपत्र लिन भने त्यति सहज छैन ।
राजपत्रमा तोकिएजस्तै भन्सार बिन्दुमा जीवनाशक बिषादीको अवशेष परीक्षण गर्ने कुनै संयन्त्र नै छैन । नाकामा रहेको क्वारेन्टाईन कार्यालयले पनि जिवनाशक बिषादीको अवशेष परीक्षण नगरी सामान्य रोग र किरा लागे नलागेका परीक्षण गर्ने तथा मिसावट मात्र जाँच गर्ने गरेको छ । क्वारेन्टाईन कार्यालयका बाली संरक्षण अधिकृत बृजकिशोर उपाध्यायले क्वारेन्टाईन कार्यालय त्यससँग सम्बन्धित कार्यालय नै नरहेको दावी गरे । उनले त्यससम्बन्धी माथिबाट कुनै आदेश पनि नआएको बताए ।
भैरहवा भन्सारबाट मात्रै दैनिक तरकारीका ५० भन्दा बढी गाडी र फलफूलको ३० भन्दा बढी ट्रक भित्रिँदै आएका छन् । केही दिन अवस्था यस्तै रहे नेपालतर्फ तरकारी तथा फलफूल अभाव हुने ब्यापारीहरु बताउछन् ।
आफुहरु बैधानिक रुपमा आयात गर्न खोजे पनि सरकारी नियमका कारण दुःख पाएको तरकारी तथा फलफूल आयातकर्ताले गुनासो गरेका छन् । भैरहवा भन्सार कार्यालयले भन्सार नगर्ने, क्वारेन्टाईनले हाम्रो अधिकार हैन भनी पन्छिएपछि कसरी आयात गर्ने ? एक आयातकर्ताले प्रश्न गरे ।
तर भारतबाट तरकारी आउँदा स्थानीय किसान मर्कामा पर्ने गरेका थिए । धेरै परिमाणमा हुने उत्पादनसँग नेपाली किसानको उत्पादनले प्रतिष्प्रर्धा गर्न हम्मेहम्मे परेको थियो । त्यसैले सरकारले प्रभावकारी कानुन नियम बनाएर कडाई गरेमा भने यसले किसानलाई फाइदै पुग्ने तर्क कतिपयको छ।
यसअघि सरकारले खसीबोका, बाख्रामा पनि कडाई गरेपछि गएको फागुनदेखि नेपालमा खसीबोका भित्रिएका छैनन् । खसीबोका भित्रयाउँदा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को नियमावली ५६ अनुसार अन्तर्राष्ट्रिय स्वास्थ्य प्रमाणपत्र लिनुपर्ने भएपछि भारतीय व्यापारीले उक्त प्रमाणपत्र पेश गर्न नसक्दा खसीबोका आयत स्वतः रोकिएको हो ।