अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो बिषय नभएको बताए ।
खतिवडाले बजेट विनियोजनमा तराई–मधेशलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र रु एक अर्वमाथि बजेट विनियोजन गरिएको जानकारी दिए। दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने मुलुकमा नेपाल रहेको जानकारी दिँदै उनले दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्ने बताए । खतिवडाले भूकम्पको पुनःनिर्माण सकुञ्जेल वैदेशिक ऋण बढ्न सक्ने बताउँदै ऋणलाई राष्ट्रिय उत्पादकत्व र द्रुत विकासमा खर्च गरिने जिकिर गरे।
अर्थमन्त्री डा खतिवडाको जवाफमाथि सांसद डिला सङ्ग्रौलाले बजेट वितरणमुखी र सस्तो लोकप्रियता हासिल गर्ने खालको रहेको आरोप लगाइन्।