राजस्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा १५ जनाबाट करिब ३ अर्ब रुपैयाँबराबर बिगो असुलीको माग गर्दै मुद्दा दायर गरेको छ ।
झुटो तथा नक्कली बिजक तयार एवं बिक्री गरी राजस्व छली गर्ने मुख्य व्यक्ति सुनसरी इनरुवा नगरपालिका–९ बलाहा स्थायी ठेगाना भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ ठिमी टेर्साटार बस्ने ४९ वर्षीय गोपालप्रसाद भट्टराईलाई पक्राउ तथा अनुसन्धान गरी उनीसहित १५ जनाबाट २ अर्ब ९८ करोड ५७ लाख ५७ हजार रुपैयाँ बिगो असुल गर्न भन्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो।
विभागले मुख्य अभियुक्तलाई बिगोको दुई गुणा बढी जरिवाना र तीन वर्ष कैद सजायसमेत माग दाबी गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
विभागका अनुसार उनीहरूलाई बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय माग गरिएको छ भने सहयोगीहरू ललिततराज कन्दङ्वा र गौरी मैनालीलाई आधा सजाय र दर्तावाल लेखापरीक्षक जगन्नाथ गुरुङ, शरणबहादुर खड्का र टङ्कनाथ नेपाललाई गलत लेखापरीक्षण प्रतिवेदन तयारी गरेको अभियोगमा मुद्दा चलाइएको छ।