विगत केही महिनअघि देखि सडक निर्माण कार्यमा प्रयोग हुने अत्यावश्यक निर्माण सामग्री “बिटुमिन” आयात नहुँदा निर्माण व्यवसायीहरुलाई ठूलो समस्या परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले बुधवार विज्ञप्ति जारी गर्दै जति सक्दो चाँडो बिटुमिन आयात तथा अन्य निर्माण समाग्री सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाई निर्माण कार्यलाई सहज बनाइदिन सम्बन्धित निकायहरु समक्ष अनुरोध गरेका छन् ।
नदीजन्य निर्माण समाग्रीहरुको असारको सुरुवात देखि नै नदीनालाबाट उत्खनन कार्य बन्द भएकोले देशभरका व्यवसायीहरु थप मारमा परेको महासंघको भनाइ रहेको छ ।
निर्माण सामाग्रीहरुको अभावमा देशभरको निर्माण कार्य प्रभावित भइरहेकाले समस्या समाधानका लागि तत्काल ठोस कदम चालिदिन समेत महासंघले विज्ञप्ति मार्फत् सरोकारवाला सबैमा अनुरोध गरेको छ ।
आर्थिक वर्ष समाप्त हुनै लाग्दा निर्माण कार्यमा देखापरेका यस्ता समस्याले देशभरका निर्माण व्यवसायीहरु ठूलो आर्थिक मारमा परी राज्यकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने तर्फ पनि महासंघले सम्बन्धित् सबैको ध्यानाकर्षण गराएको छ ।