गृहमन्त्री रामबहादुर थापाले नेपालको गरिबी ५ वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । रत्ननगरमा शुक्रबार आयोजित वृत्ति परामर्श तथा रोजगार मेला उद्घाटन गर्दै उनले सरकारले अहिले रहेको १८ प्रतिशत गरिबीलाई शून्यमा झार्ने लक्ष्यसाथ अघि बढेको बताए ।
यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ थियो । जसअनुसार प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको उनले जानकारी दिए । रत्ननगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले विकास र समृद्धिका लागि दक्ष जनशक्ति आवश्यक रहेको बताए । विकास र समृद्धिका लागि दक्ष जनशक्ति र जनशक्तिका लागि प्राविधिक र व्यावसायिक शिक्षा आवश्यक रहेकोमा उनको जोड थियो ।
नेपाल कृषि प्रदान देश रहेको बताउँदै मन्त्री थापाले कृषिलाई औद्योगिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, “कृषिलाई औद्योगिकीकरण गरी रोजगारीको सिर्जना गर्नुपर्छ । अहिले श्रम बजारमा रहेका श्रमिकमा दक्षताको अभावले उनीहरुको कमाइले घर खर्चसमेत चलाउन असहज भएको उनको भनाइ थियो । स्वदेशमा रोजगार दिने उद्योग र उद्योगीको सुरक्षाका लागि सरकार सधैँ तयार रहेको मन्त्री थापाको भनाइ थियो ।
बेरोजगार युवालाई रोजगार दिने र कामको अभाव भएका उद्योगमा दक्ष कामदार उपलब्ध गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको हो । मेलामा काठमाडौँसहित विभिन्न जिल्लाका रोजगारदाताको सहभागिता छ ।
रोजगारीको खोजीमा रहेका युवा लक्षित गर्दै सञ्चालन गरिएको कार्यक्रममा २५ सयदेखि ३ हजार युवाको सहभागिता रहने अपेक्षा गरिएको छ । मेलाबाट १५ सयले वृत्ति परामर्श सेवा लिनेछन् । परामर्श लिएकामध्ये १५० देखि २ सय जनाले रोजगारी प्राप्त गर्ने लक्ष्य लिइएको छ । -रासस