उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीहरूलाई ढकालले आग्रह गरेका छन्।
स्वीजरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८ औं अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै ढकालले नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठुलो सम्भावना भएका क्षेत्र भएको भन्दै नेपालमा लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गरेका हुन्।
ढकालले प्रविधिको विकास, जलवायु परिवर्तन तथा भुमण्डलीकरणले आर्थिक रूपान्तरण तथा श्रम बजारमा भइरहेको परिवर्तनबाट आउने चुनौतिको सामना गर्न मानव संसाधनको विकासमा जोड दिनुपर्ने विषयमा ग्लोवल कमिशनद्वारा प्रस्तुत कामको भविष्य सम्बन्धी प्रतिवेदनले जोड दिएको प्रसंग उल्लेख गर्दै बढ्दो असमानता घटाउन र सामाजिक न्यायको प्रवद्र्धनको लागि सबै पक्ष एकजूट भएर काम गर्नुपर्ने धारण व्यक्त गरे।
श्रम सम्मेलनको सो अधिवेशनबाट कामको भविष्य विषयमा पारित हुने शतवार्षिकी घोषणा कामको भविष्य सम्बन्धी चुनौतीको सामना गर्न कोशेढुंगा सावित हुने सभापति ढकालले बिश्वास व्यक्त गरे।
उनले नेपालको निजी क्षेत्रले संवाद र सहकार्यको माध्यमबाट दीगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरी बढीभन्दा बढी सम्मानजनक रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने धारणा व्यक्त गर्दै सामाजिक संवादको माध्यमबाट श्रम कानूनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको उदाहरण प्रस्तुत गरे।
जेठ २७ गतेदेखि संचालन भएको आइएलओ सम्मेलनमा सरकार, रोजगारदाता र ट्रेड यूनियनको सहभागिता रहेको छ। अन्तर्राष्ट्रिय श्रम संगठन स्थापनाको सय वर्ष पुगेको अवसरमा शुरु भएको श्रम सम्मेलन असार ६ गतेसम्म चल्ने छ।