गत २ फागुनमा प्रधानमन्त्री केपी ओलीले एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरे। उद्घाटनको अवसर पारेर कार्यालय सिँगारियो, मञ्च पनि झकिझकाउ पारियो। कार्यक्रममा ३ जना मन्त्रीसमेत सहभागी थिए। दिवाभोजको आयोजना पनि गरियो। तर, यसरी तामझामका साथ उद्घाटन गरिएको पानीजहाज कार्यालयको उद्घाटन खर्च भने अझै भुक्तानी हुन सकेको छैन।
कार्यक्रमको होर्डिङबोर्ड बनाउनेदेखि क्याटरिङ सेवा उपलब्ध गराउने कम्पनीहरू भुक्तानीका लागि तीन महिनादेखि पानीजहाज कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय धाइरहेका छन्। तर, उनीहरूले अझै भुक्तानी पाउन सकेका छैनन्। ‘प्रधानमन्त्रीको विशेष प्राथमिकतामा परेको कार्यालय र प्रमले नै उद्घाटन गरेको कार्यक्रमको भुक्तानी अझै गरिएको छैन,’ मन्त्रालयका एक अधिकारीले भने, ‘प्रचारप्रसार गरेर आयोजित उद्घाटन कार्यक्रमको करिब ४ लाख रुपैयाँ खर्च पनि अझै भुक्तानी नगरिनु खेलाँची हो।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहने सो कार्यालयको उद्घाटन कार्यक्रम पनि मन्त्रालयले नै आयोजना गरेको थियो। मन्त्रालयले नै कार्यालय उद्घाटनका लागि होर्डिङबोर्ड, ब्यानर बनाउनेदेखि खाजा खुवाउनेसम्मको व्यवस्थापन गरेको थियो। तर, सबै सेवाप्रदायकको भुक्तानी दिन भने अलमल गरिएको छ। ‘रातारात हामीलाई कार्यालय र मञ्च सिँगार्न भनियो, रेड कार्पेट ओछ्याउन लगाइयो,’ एक सेवाप्रदायकले भने, ‘तर, कार्यक्रम सकिएको चार महिना लाग्नै थाल्दासमेत भुक्तानी दिइएको छैन।’ पानीजहाज कार्यालयले उक्त रकम भुक्तानी दिन मन्त्रालयलाई दुईपटक पत्राचार गरेको थियो। तर, मन्त्रालयले उक्त भुक्तानी कार्यालयले नै गर्नुपर्ने अडान लियो। कार्यालयले भने आफूसँग भुक्तानीका लागि छुट्टै बजेट नभएको भन्दै मन्त्रालयमा जवाफ फर्कायो। यद्यपि, मन्त्रालयले भुक्तानी दिन अटेर गरेपछि अहिले कार्यालय आफैँले भुक्तानी गर्न मन्त्रालयमा बजेट माग गरेको एक कर्मचारीले बताए।
पानीजहाज कार्यालय उद्घाटन कार्यक्रममा दिव्यश्वरी पार्टी प्यालेसले क्याटरिङ सेवा दिएको थियो। डिजिटल प्रिन्ट एन्ड साइनेग नेपालले होर्डिङबोर्ड, ब्यानर बनाउनेलगायत काम गरेको थियो। बजकेटिङ नेपाल नेटवर्कले डिजिटल मार्कटिङको काम गरेको थियो। तर, ३ वटै कम्पनीले अझै पनि भुक्तानी पाउन नसकेको मन्त्रालयका एक अधिकारीले बताए। नयाँ पत्रिकामा खबर छ।