बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम सुरु भएको छ ।
नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई ९ करोड रुपैयाँ उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो ।
भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले सामान्यतः विमानस्थल निर्माण भएको सातदेखि १० वर्षभित्र कालोपत्र गरिनुपर्ने बताए । प्रधिकरणले देशभरकै विमानस्थललाई मर्मत गर्दा बजेट र समय तालिका मिलाउनुपर्ने भएकाले कालेपत्र गर्न ढिलाइ भएको उनले बताए ।
गौतमका अनुसार गौरी पार्वती निर्माण सेवाले असार १५ सम्म धावनमार्गको काम पूरा गर्ने गरी काम अघि बढाइएको बताए । १२ मिटर लम्बाइ रहेको यहाँको धावनमार्गमा ६ सेमि मोटाइको कालोपत्र गरिँदै छ । त्यस्तै निर्माण कम्पनीले कालोपत्रसहित, विमान तथा गाडी पार्किङ, ढललगायतको काम गर्नेछ ।
धावनमार्ग कालोपत्र गर्ने भएपछि यहाँको उडान समय बिहान साढे ९ देखि बेलुका ३ बजेसम्म मात्र गरिएको छ । ‘मर्मतका समयमा उडान रोकेर काम गर्ने चलन छ,’ उनले भने, ‘बिरामी लक्षित गरी बिहान–बेलुकी काम गरेका छौं । कालोपत्रको क्रममा कुनै पनि दिन उडान रोक्दैनौं ।’
भरतपुर विमानस्थलबाट एकतर्फी रुपमा औसत दैनिक ५ सय यात्रुले यात्रा गर्दै आएका छन् । बुद्ध एयर, यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन् । -रासस