अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शेयर बजारलाई मौद्रिक नीतिमा हुने परिवर्तनको प्रभावबाट मुक्त गर्ने कदम चाल्न धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।
शनिबार काठमाडौंमा धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री खतिवडाले लामो समय देखि धितोपत्र बोर्ड राष्ट्र बैंकको छायामा परेको र त्यसले शेयर बजारलाई समेत प्रभावित पारिरहेको समेत बताए ।
उनले बैंकिङ्ग प्रणालीमा तरलता बढ्दा शेयर बजार बढ्ने र तरलता घट्दा शेयर बजार पनि घट्ने क्रमको अन्त्य हुनुपर्नेमा पनि जोड दिए । स्वार्थमा निहित भए कुनै पनि नियामक निकायले काम गर्न नसक्ने हुदा बोर्डको संरचनामा नै सुधार गर्नु पर्ने अर्थमन्त्रीको भनाई छ । उहाले बोर्डलाई अझ व्यवसायिक, स्वतन्त्र र प्रभावकारी निकायको रुपमा विकास गर्न धितोपत्र बोर्ड ऐन, २०६३ संशोधनको क्रममा अगाडि बढेको जानकारी पनि दिए । .
कार्यक्रममा बोर्डले बिभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको थियो भने अर्थमन्त्री खतिवडाले बोर्डको बार्षिक स्मारिका लोकार्पण गरेका थिए।