अब सवारीसाधन दुर्घटनाबाट मृत्यु भएमा पीडित परिवारले बिमा कम्पनीबाट अधिकतम २८ लाख रुपैयाँसम्म पाउने भएका छन्। यातायात व्यवस्था विभागको अनुरोधमा बिमा समितिले मोटर बिमाको बिमांक रकम ८ लाखबाट बढाएर २८ लाख रुपैयाँसम्म बनाउने तयारी गरेको छ। विभागले मोटर बिमा योजनामा मेरुदण्ड र टाउकोमा लागेको चोटको पनि रक्षावरण गर्न समितिलाई अनुरोध गरेको छ।
सरकारले यातायात समितिहरूको खारेजी गरेपछि व्यवसायीलाई थप सुरक्षित बनाउन बिमांक रकम बढाउने तयारी गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयपछि विभागले मोटर बिमालाई संशोधन गरी बिमांक रकम बढाउन बिमा समितिलाई अनुरोध गरेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए। ‘हामीले हाम्रो आवश्यकताअनुसार बिमांक रकम बढाउन बिमा समितिसँग अनुरोध गरेका छौँ। उहाँहरूले अन्य सरोकार निकायहरूसँग छलफल गरी बिमाशुल्कसहितको योजना बनाउँदै हुनुहुन्छ,’ उनले भने।
यातायात विभागको अनुरोधमा बिमा समितिले मोटर बिमाअन्तर्गत मृत्यु वा उपचारबापतको रकम बढाउने भएको छ। समितिले मोटर दुर्घटनाका कारण मृत्यु भएमा १० लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ तोकिने तयारी गरेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। ‘हामीले विभागको अनुरोधमा मोटर बिमालाई संशोधन गर्ने तयारी गरेका हौँ। बिमा कम्पनी र यातायात व्यवसायीसँग बसेर बिमाशुल्क दर कायम गरिनेछ,’ उनले भने। हालको व्यवस्थाअनुसार मोटर दुर्घटनाबाट मृत्यु भएमा ५ लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था छ। यसअघि विभागले मेडिकल उपचारबापत ६ लाख रुपैयाँ पुर्याउनुपर्ने प्रस्ताव गरेको थियो।
बिमा समितिले संशोधन गर्न लागेको मोटर बिमा योजनामा सवारी दुर्घटनाका कारणले मेरुदण्ड र टाउकोमा चोट लागेमा उपचार गर्न १५ लाख रुपैयाँ तोकिएको छ। यो व्यवस्थाअनुसार दुर्घटनाका कारणले मानिसको मृत्यु भएमा अधिकतम २८ लाख रुपैयाँसम्म कम्पनीले भुक्तानी गर्नुपर्नेछ। दुर्घटनाबाट मृत्यु मात्रै भएको अवस्थामा कम्पनीले १० लाख रुपैयाँ भुक्तानी गर्नेछ। त्यस्तै, उपचार मात्रै गर्नुपरेमा ३ लाख रुपैयाँ भुक्तानी गर्नेछ। उपचार गर्दै जाँदा टाउकोमा र मेरुदण्ड चोट लागेको पाइएमा १५ लाख रुपैयाँ भुक्तानी गर्नेछ। नयाँ पत्रिकामा खबर छ।