देशभर सञ्चालित रहेका कुल ३७ सार्वजनिक संस्थानमध्ये आर्थिक वर्ष २०७४-७५ मा २६ वटा नाफामा रहेका छन्। अघिल्लो वर्षको तुलनामा सार्वजनिक संस्थानको मुनाफामा सामान्य सुधार भएको तथ्यांक सरकारको छ।
सरकारले गत बुधबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०७६’ अनुसार नाफामा रहेका संस्थानमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। सो कम्पनीले आव २०७४-७५ मा कुल १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ नाफा गरेको छ।
यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणले ४ अर्ब ४३ करोड १ लाख, राष्ट्रिय वाणिज्य बैंक ३ अर्ब ६५ करोड ९३ लाख, नेपाल आयल निगम ३ अर्ब ५८ करोड ७४ लाख र कृषि विकास बैंक ३ अर्ब ४४ करोड २३ लाख रुपैयाँ नाफामा रहेका छन्।
त्यस्तै, नेपाल बैंक लिमिटेड ३ अर्ब २१ करोड ५७ लाख, नेपाल विद्युत् प्राधिकरण २ अर्ब ८४ करोड ८१ लाख, नागरिक लगानी कोष २ अर्ब १७ करोड ५४ लाख, जलविद्युत् लगानी तथा विकास कम्पनी ८० करोड ७६ लाख, राष्ट्रिय बिमा कम्पनी लिमिटेड ५५ करोड १० लाख, निक्षेप तथा कर्जा सुरक्षण निगम लिमिटेड ३७ करोड २८ लाख र नेपाल स्टक एक्सचेन्ज लिमिटेड २६ करोड २ लाख रुपैयाँ नाफा गरेका छन्।
यसैगरी, नेपाल वायु सेवा निगम २० करोड १७ लाख, कृषि सामग्री कम्पनी लिमिटेड १९ करोड ५४ लाख, हेटौंडा सिमेन्ट उद्योग १६ करोड ३६ लाख, जनक शिक्षा सामग्री केन्द्र ११ करोड ६९ लाख, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड १० करोड ५९ लाख, उदयपुर सिमेन्ट उद्योग १० करोड २४ लाख, द टिम्बर कर्पोरेसन अफ नेपाल १० करोड १३ लाख रुपैयाँ नाफा गरेका छन्।
नेपाल खाद्य संस्थान ५ करोड २२ लाख, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी ५ करोड १४ लाख, दुग्ध विकास संस्थान ४ करोड ८५ लाख, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी ४ करोड ३९ लाख, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी ३ करोड ६२ लाख, राष्ट्रिय बिमा संस्थान (जीवन) एक करोड ९७ लाख र नेपाल विद्युत् उत्पादन कम्पनी लिमिटेड १ करोड १ लाख रुपैयाँ नाफा गरेका छन्।
आव २०७४-७५ मा संस्थानको कुल नाफा ४४ अर्ब ९ करोड ९ लाख पुगेको छ। घाटामा गएका संस्थानको खुद नोक्सानी ६४ करोड २० लाख रहेको तथ्यांक छ। यो नोक्सानी कटाउँदा आव २०७४-७५ मा सबै सार्वजनिक संस्थानको खुद मुनाफा ४३ अर्ब ४४ करोड देखिन्छ। आव २०७०-७१ मा सबै संस्थानको खुद मुनाफा केवल ५ अर्ब ७६ करोड रहेकोमा ५ वर्षमा ४३ अर्ब रुपैयाँ पुगेको छ। सरकारी आँकडाअनुसार केवल पाँचवटा संस्थानले कुल मुनाफाको ८१ दशमलव ७५ प्रतिशत हिस्सा ओगटेका छन्।
मुलुकभरका कुल ६५ संस्थानमध्ये अहिले ३९ वटा मात्र अस्तित्वमा छन् भने तीमध्ये पनि ३७ वटा मात्र सञ्चालनमा रहेका छन्। सञ्चालनमा रहेका १८ वटा संस्थान पूर्ण सरकारी हुन्। यसैगरी, १७ वटा संस्थानमा सरकारको ठूलो हिस्सा सेयर रहेको छ। सरकारले सामाजिक क्षेत्रमा सञ्चालित संस्थानमा बढी लगानी गरेको छ। बन्द अवस्थामा रहेका केही संस्थानले पनि भाडाबाट आम्दानी गर्दै आएको अर्थ मन्त्रालयले जनाएको छ। सो तथ्यांक २०७५ सालको असार मसान्तसम्मको हो।
केही दिनअघि अर्थमन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणअनुसार आव २०७४-७५ मा सार्वजनिक संस्थानबाट ९४ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन भएको छ। कुल राजस्वमा सार्वजनिक संस्थानबाट संकलित राजस्वको योगदान १२ दशमलव ९ प्रतिशत रहेको छ। संस्थानहरूको कुल सञ्चालन आय २१ प्रतिशतले बढेर ३ खर्ब ९० अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यस्तै, संस्थानहरूमा सरकारको सेयर लगानी २ खर्ब ३७ करोड छ भने १ खर्ब ६४ अर्ब ४२ करोड रुपैयाँ ऋण दिएको छ। सर्वेक्षणमा सेयर र ऋण लगानीमा क्रमशः २५ दशमलव ६ प्रतिशत र ७ दशमलव ८ प्रतिशतले वृद्धि भएको उल्लेख छ। राजधानी दैनिकमा खबर छ।