बजारमा छ्याप्छ्याप्ती भएको दुई प्रकारका बिएमसी मसलाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै दर्ता भएको उजूरीमाथि टुङ्गो लगाउन बसेको संसदीय समितिले कुन मसला सक्कली वा नक्कली हो भनेर छुट्ट्याउन सकेन।
नक्कली मसलाको टुङ्गो लगाएर सम्बन्धित निकायलाई कारवाहीको निर्देशन दिन बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठकले सक्कली र नक्कली मसालको भेउ पाउन नसकेपछि समितिनै अलमलमा परेको छ।
सक्कली मसला पहिचान गर्ने र नक्कली मसलाको आयातकर्तालाई कारवाही गर्ने उद्देश्यले समितिको बैठकमा छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, उद्योग सचिव, भन्सार विभागका महानिर्देशकलाई बोलाइएको थियो।
बिएमसीको नाममा भेटिएको दुई मसलाको प्याकेट झण्डै दुरुस्तै थियो। मसलामा प्रयोग भएका तत्वका नाम एउटै र परिणाम एकै थिए। प्याकेट भने झट्ट हेर्दा उस्तै देखिए पनि गहिरिएर हेर्दा मात्र फरक देखिन्थ्यो। बिएमसी मसला सक्कली की नक्कली भनेर छुट्ट्याउन मन्त्री, सचिव, सांसद् निकैबेर घोत्लिएर पनि समिति निष्कर्षमा पुग्न सकेनन्।
छलफलमा सहभागी हुने कोही सांसदले नक्कली मसलाको भन्सार जाँचपास गरेको भन्दै भन्सारतर्फ प्रश्न तेस्र्याए भने कतिले मसलाको गुणस्तर जाँच गरिनुपर्ने बताए। त्यस्तै केही सांसदले भने सक्कली बिएमसी मसालको आयातकर्ताले कारोवार कम देखाउन भन्सार छली गरेर नक्कली मसला भित्र्याएको हुनसक्ने आशङ्कासमेत गरे। बैठकमा केही सांसदले मसलामा मिसावट भएको छ भनेर आफूले मसलाको प्रयोग नै बन्द गरेको सुनाउनसमेत भ्याए। नागरिक दैनिकमा खबर छ।