नेपाल गुणस्तर तथा नापतौल विभागले ६ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ ।
विभागले २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मंसिर पहिलो सातादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा बढेको भाडा समायोजन गरिँदै आएको जानकारी दिए । ‘मिटर र प्रिन्टर मेसिन ठीक छ/छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ’,' उनी भन्छन् ।
विभागले दैनिक ८० देखि सय ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । पहिला ट्याक्सी चलाउन थालेपछि सुरुमा १४ र १ किमि गुडिसकेपछि ५० रुपैयाँ उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि सुरुमा १५ र १ किमि गुडेपछि ५३ उठ्नेछ ।
यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ । सरकारले ट्याक्सीमा भाडा समायोजन गरेपछि केही ट्याक्सी चालक भने अझै पनि मिटरमा जान मान्दैनन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०७५ मंसिरदेखि हालसम्म मिटरमा जान नमान्ने ३ हजार ट्याक्सीलाई कारबाही गरेको छ ।
महाशाखा प्रमुख वसन्तकुमार पन्त ट्राफिक प्रहरीमा ट्याक्सी चालक मिटरमा जान नमान्ने उजुरीका आधारमा कारबाही गर्दै आएको बताउँछन् । महाशाखाले दैनिक ४० ट्राफिक प्रहरीलाई सादा पोसाकमा खटाउँदै आएको छ । नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै व्यवसायीलाई थोरै भए पनि राहत पुगेको बताउँछन् । ‘समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा संघले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ,’ उनको भनाइ छ । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा मात्र १० हजार ६ मिटर ट्याक्सी सञ्चालनमा छन् । -रासस