व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिलाई साढे चार अर्ब कर तिर्न आन्तरिक राजस्व कार्यालयले पत्राचार गरेको छ।
बानेश्वरस्थित आन्तरिक राजस्व कार्यालयले सुमार्गीको पारिवारिक लगानी रहेको हेलो नेपालले ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार पुँजीगत लाभकर तिर्नुपर्ने ठहर गरेको छ।२०६८/६९ मा भएको बिक्रीको लाभकर तिर्न राजस्व कार्यालयले यसै साता पत्र काटेको हो।
नेपाल स्याटेलाइटको ७५ प्रतिशत स्वामित्व साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत टेलियासोनेरा कम्पनीलाई बिक्री गर्दाको लाभकर तिर्न राजस्व कार्यालयले पत्र लेखेको हो। नेपाल स्याटेलाइटको ७५ प्रतिशत सेयर ५ अर्ब ७१ करोड रुपैयाँमा बिक्री भएको राजस्व कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
उक्त बिक्रीबाट नेपाल स्याटेलाइटलाई ५ अर्ब ६३ करोड ५० लाख रुपैयाँ लाभ भएकाले त्यसमा लाभकर लाग्ने राजस्व कार्यालयले जनाएको छ। उक्त रकम मध्ये १ अर्ब ४० करोड ८७ लाख ५० हजार पुँजीगत लाभकर हुनुपर्नेमा यो अवधिको जरिवानासहित साढे चार अर्ब पुगेको हो। कान्तिपुरमा खबर छ।