मुलुकको सबैभन्दा ठूलो बाणिज्य बैंकको रुपमा रहेको राष्ट्रिय बाणिज्य बैंकले दरवारमार्गको शाखा कार्यालयबाट पनि लकर सुविधा सञ्चालनमा ल्याएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले एक कार्याक्रमकाबीच लकर सुविधाको उद्घाटन गरे। ग्राहकले लकर सुविधाका लागि १५ सयदेखि तीन हजार रुपैयाँसम्मको वार्षिक शुल्क तिर्नु पर्नेछ।
यस शाखा कार्यालयबाट एकै पटक २६ सय ८५ जनाले सुविधा लिन सक्ने शाखा कार्यलयका प्रमुख रामकुमार थापाले जानकारी दिए। सुरुवाती चरण भएकाले वार्षिक रूपमा यस सुविधा लिने ग्राहकहरुका लागि आषाढ-मसान्तसम्म शुल्कमा छुटकाे व्यवस्था हुने समेत थापाले बताए। यद्पी, यस सुविधाका लागि ग्राहक वर्गले लकरको साइजको आधारमा खातामा न्यूनतम मौज्दात १० देखि २० हजार रुपैयाँ राख्नु पर्नेछ।अन्य बाणिज्य बैंकहरुको तुलनामा सस्तो र सुलभ दरमा यस्तो सुविधा दिइएको थापाले बताए।
यस्तै,बैंकले महालक्ष्मी वचत खाता खोल्नेहरुका लागि लकर सुविधामा २५ प्रतिशतसम्मको छुट पाउने व्यवस्था गरेको छ। बैंकले यसअघि विशालबजार, कर्पोरेट कार्यालय भद्रकाली, पुल्चोक नक्साल र बालाजुमा रहेका शाखा कार्यालयबाट पनि लकर सुविधा प्रदान गर्दै आएको छ।
हाल देशभरि २१९ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको राष्ट्रिय वाणिज्य बैंक, पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैंक हो।