आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका कर्मचारीले व्यापारीबाट बुझेको करोडौं रकम हुन्डीमार्फत दिल्ली र अस्ट्रेलिया लैजाने गरेको पाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले राजस्व र करदाता कार्यालयका कर्मचारीले व्यापारीबाट करोडौं रुपैयाँ बुझेर सो रकम हुन्डीमार्फत भारतको नोयडा र गुडगाउँ पठाउने गरेको गुनासो व्यापक रूपमा आइरहेको बताएका छन्।
राज्यकोषमा आउनुपर्ने करोडौं रुपैयाँ ठगी गरी व्यापारीहरूसँगको मिलेमतोमा राजस्व र करदाता कार्यालयका उच्च अधिकारीहरूले कराेडाैं रकम भारत तथा अस्ट्रेलिया पठाउने गरेको गुनासा आएपछि ती कर्मचारीमाथि छानबिन र अनुसन्धान गर्न उच्च दबाब परेको छ।
प्रधानमन्त्री कार्यालयका ती अधिकारीले प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष यस विषयमा उजुरी आएको बताए। ‘राजस्व ठगेर रकम असुली गरेको भन्ने उजुरी, गुनासा र जानकारी आएका छन्, यस विषयमा हामी गम्भीर छौं,’ प्रधानमन्त्री कार्यालयका ती अधिकारीले राजधानीसँग भने।
स्रोतका अनुसार राजस्व र करदाता कार्यालयका उच्च अधिकारीहरूको साठगाँठ राजस्व ठगी गर्ने व्यापारीसँग अत्यधिक हुने गरेको छ। राजस्व सेवा समूहका कर्मचारी मात्रै रहने ती निकायमा अन्य सेवा समूहका कर्मचारी टिक्नै सक्दैनन्। ‘राजस्व र करदाता कार्यालयमा संरचनागत भ्रष्टाचार यति धेरै मौलाएको छ कि त्यसले मुलुकको कराेडाैं राजस्व गुमिरहेको छ,’ एक सहसचिवले भने।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कर र राजस्व कार्यालयका कर्मचारीविरुद्ध अख्तियारमा उजुरी आउने क्रम यथावत् रहेको जानकारी दिएको छ। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले राजस्व, करदाता कार्यालयलगायत जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने सबै सरकारी निकाय अख्तियारको उच्च निगरानीमा रहेको जानकारी दिए। राजधानीमा खबर छ।