देशको राजधानी, सांस्कृतिक शहर र पुरानो नगरपालिकामध्येको एक काठमाडौँकै ठूला वडामा पूर्वाधारको सन्तुलित विकास हुन नसकेको वडावासीको दुःखेसो छ ।
काठमाडौँ महानगरपालिकाले भित्री सीमित सहरी क्षेत्रमा मात्र ध्यान दिँदा अन्य नगरपालिकासँग जोडिएका ठूला वडा सडक पूर्वाधारमा कमजोर बनेको हो । सानो क्षेत्रफल र थोरै जनसङ्ख्या रहेका एवं ठूलो क्षेत्रफल र धेरै जनसङ्ख्या रहेका वडालाई उस्तै बजेट दिइएको वडा तहका जनप्रतिनिधिको गुनासो छ । महानगरपालिकाले वडामा ३ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको छैन ।
महानगरपालिकाको कुल बजेट १३ अर्ब छ । सबै वडामा गरी १ अर्ब रुपैयाँ पनि नबाँडिँदा पूर्वाधार निर्माण हुन नसकेको महानगर १६ का वडाध्यक्ष मुकुन्द रिजालले बताउँछन् । काठमाडौँका सबै नगरपालिकालाई महानगरपालिकाले १/१ करोड रुपैयाँ बजेट दिएको छ । पूर्वाधारमा कमजोर वडालाई भने आवश्यक मात्रामा ध्यान नदिँदा पछि परेको छ । सडक संरचना अस्तव्यस्त बन्दा हिउँदमा धुलो र वर्षामा हिलोले आवतजावतमा समस्या हुने गरेको छ ।
राजधानीकै महानगरपालिका र नगरपालिका जोड्ने सडक निर्माणमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । काठमाडौँ महानगरपालिकाको ठूलोमध्ये पर्ने वडा १६ र तारकेश्वर नगरपालिका जोड्ने सडक जीर्ण बन्दा आवतजावतमा समस्या आएको हो । स्थानीय रामबहादुर रानामगर हाल घाम लागेका बेला धूलोले सडक नदेखिने गरेकाले हिँड्दा दुर्घटनामा पर्ने डर रहेको बताउँछन् ।
सडकका विषयमा पटक-पटक सरोकार भएका निकायमा ध्यानाकर्षण गर्दा पनि कसैको ध्यान जान नसकेको उनको भनाइ छ । महानगर १६ का वडाध्यक्ष रिजाल सडकको दुरावस्थाबारे कार्यालयमा पटक-पटक गुनासो आए पनि क्षेत्राधिकारमा नपर्ने भएकाले गत वर्ष केही गर्न नसकिएको बताउँछन् ।
“जनताको गुनासो आएपछि यो सडक निर्माणका लागि महानगरपालिकाले काम आरम्भ गरेको छ, यो सडक कानुनअनुसार प्रदेश सरकारले निर्माण गर्नुपर्ने हो, दुई स्थानीय तह जोड्ने सडक प्रदेश सरकारले बनाउनुपर्ने भए पनि प्रदेश ३ सरकारको ध्यान जान सकेन, गत वर्ष प्रदेश सरकारको बजेट फ्रिज भयो, यस्ता सडक बनेनन्,” उनले भने ।
महानगरबाट तारकेश्वर जोड्ने सडक निर्माणका लागि २ करोडको लागतमा महानगरपालिकाले बोलपत्र आह्वान प्रक्रिया सुरु गरेको वडाध्यक्ष रिजालले सुनाए । यसै वडाको एराहिटीबाट नागार्जुन नगरपालिका जाने सडकको अवस्था पनि उस्तै छ । यसमा समेत प्रदेश सरकारको ध्यान नगएपछि महानगरपालिकाले नै बनाउन लागेको छ । यसका लागि वाग्मती कन्स्ट्रक्सनसँग सम्झौता भइसकेको वडा कार्यालयले जनाएको छ ।
पर्यटकीय क्षेत्र ठमेलसँगै जोडिएको पकनाजोल-क्षेत्रपाटी सडकमा खाल्डाखुल्डी छन् । दैनिक पर्यटक आवतजावत गर्ने यो सडकको जीर्णले विश्वमै नेपालको बदनाम भइरहेको स्थानीय वृद्ध बुद्धकृष्ण चित्रकारको गुनासो छ । सडककै कारण पर्यटकमार्फत् नराम्रो सन्देश जानसक्ने भएकाले बेलैमा बनाउनुपर्ने उनको भनाइ छ । यसले नेपाल भ्रमण वर्ष २०२० लाई पनि प्रभाव पार्नसक्छ ।
भूगोल ठूलो र जनसंख्या धेरै भएका महानगरपालिकाका ६, १४ र १६ विकास निर्माणपछि परेका छन् । यहाँको पूर्वाधारको अवस्था कमजोर छ । पछि परेका वडालाई अघि बढाउन महानगरपालिकाले ध्यान नदिएको गुनासो वडा अध्यक्षको छ । वडा ६ का अध्यक्ष दीपेन्द्रकुमार लामा सबै वडालाई समानुपातिक रुपमा ३ करोड बजेट दिनेभन्दा पनि भूगोल ठूलो भएका, ग्रामीण भेगसमेत जोडिएका वडाको पूर्वाधार विकासमा विशेष जोड दिनुपर्ने बताउँछन् ।
“वडामा पर्ने चाबहिल–बौद्ध–जोरपाटी सडकको अवस्था वर्षौँदेखि नाजुक छ । सङ्घीय सरकारले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित हुनुअघि नै बोलपत्र आह्वान गरेको यो सडक नबन्दा स्थानीयको गुनासो दैनिक वडा कार्यालयमा आउने गरेको छ, हामीले गुनासो सुनेर सरोकार भएका निकायलाई भन्नेबाहेक केही गर्न सक्दैनौँ, वडाले काम गरेन भन्ने जनगुनासो हुन्छ,” उनले सुनाए ।
वडा नं ६ को चुच्चेपाटी–बौद्ध महाङ्काल सडकसमेत नाजुक छ । यो सडक निर्माण सुरु गरिएको वर्षौँ भए पनि अझै पूरा भएको छैन । सडकबीचका ठूला खाल्डामा पानी परेका बेला पोखरी बन्ने गरेका छन् । पोखरीमा साना सवारी डुब्ने गरेको स्थानीय छिरिङ तामाङ बताउँछन् । पानी जमेपछि दायाँबायाँ किनारमा पैदलयात्रा गर्न नसकिने उनले सुनाए ।
यसै वडामा पर्ने चाबहिल सरस्वतीनगरको सडकमा पनि अनगिन्ती खाल्डाखुल्डी छन् । वडा ६ मै पर्ने बौद्ध सिमलटार र पाटीटारका सडक दुर्गम ग्रामीण भेकका भन्दा दूरावस्थाका छन् । स्थानीय बासिन्दा वडामा सेवा सुविधा लिन जाँदा कर महानगरको दरमा तिर्नुपरे पनि दुर्गम ग्रामीण भेकको जति पनि पूर्वाधार नपाउँदा दुःख लाग्ने गरेको बताउँछन् । वडा ६ कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकासँग जोडिन्छ ।
महानगरको केन्द्रमा पर्ने वडा १७, १८, १९, २०, २१, २२, २४, २५, ५, १२, ३०, २ र १ गरी १३ वटाको जम्मा भूगोल र वडा नं. ६, १४ र १६ को एकल भूगोल उस्तै छ । तर बजेटमा ठूलो अन्तर नहुँदा दैनिक जन गुनासो वडा कार्यालयमा आउने गरेको छ ।
भूगोल ठूलो भएका वडाबाट करसमेत धेरै उठ्ने गरेको छ । तर त्यसको उपयोग त्यहीँको विकासमा खर्च हुन सकेको छैन । अध्यक्ष रिजाल वडा १६ सँगै जोडिएका तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाभन्दा धेरै जनसंख्या आफ्नो वडामा रहेको बताउँछन् । २०६८ को जनगणनाअनुसार वडामा ३० हजार घर र १ लाख ३० हजार जनसंख्या छ ।
उपत्यकाबाट बाहिरिने प्रमुख नाका कलंकी क्षेत्रमा पर्ने वडा १४ का सडकको अवस्था पनि उस्तै छ । नागार्जुन, चन्द्रागिरी र कीर्तिपुर नगरपालिकासँग जोडिने वडाका धेरै सडकको यात्रा असहज छ । वडाध्यक्ष शोभा सापकोटा आफू निर्वाचित भएको २ वर्षमा १५ करोडको सडक, ढल, खानेपानी पूर्वाधार निर्माणमा खर्च गरिसकेको बताउँछिन् ।
“कालिमाटी–कलंकी सडक लामो प्रयासपछि बन्यो, पेटी अझै बन्न सकेको छैन, पैदल हिँड्ने ठाउँ छैन, वडाको वाग्मती किनारको करिडोरको समस्या समाधान हुन सकेको छैन, कुलेश्वर आवास क्षेत्रको सडकको अवस्था त्यस्तै दयनीय छ, हालै महानगरपालिकाको ३ करोडमा यो सडकको बन्ने भएको छ,” उनले भनिन् ।
त्रिभुवन विश्वविद्यालय मूलद्वारबाट भगवती मार्गको सडकसमेत लामो समयदेखि मर्मत सम्भार नहुँदा जीर्ण छ । यसका लागि महानगरले २ करोड विनियोजन गरेको छ । सोल्टीमोडमा वर्षाका समयमा पानी जम्ने समस्या छ । संघीय सरकारको कार्यक्षेत्रमा पर्ने भए पनि मूल सडकको समस्या लिएर जनता पुग्ने पहिलो निकाय वडा कार्यालय नै भएको अध्यक्ष सापकोटा बताउँछिन् ।
महानगरका वडा १५ र ३२ का केही सडकको अवस्थासमेत लाजमर्दो छ । सरकारले महानगर र सँगै जोडिएका नगरपालिकामा कर निर्धारण गर्दा आधा फरक परे पनि पूर्वाधार निर्माणमा ध्यान नदिएको स्थानीय र जनप्रतिनिधिको गुनासो छ ।