राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी आव ०७६/७७ लागि १ खर्ब ५६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको प्राधिकरणको निर्देशक समितिको १५औँ बैठकले आगामी आवको बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो । निर्देशक समितिको बैठकले प्राधिकरणको आगामी बजेट तथा कार्यक्रम स्वीकृत गर्दै सोही आधारमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।
बैठकले प्राधिकरणको समग्र पुनर्निर्माणको कार्यक्रमका निम्ति करिब ६ खर्ब ३० अर्ब रुपैयाँ सरकारको बजेटरी कार्यक्रम र दातृ निकायकोसमेत सहयोगमार्फत परिचालित हुने रकमको वित्तीय आकलन गरेको छ । यसैअनुसारको वित्तीय खाका बैठकमा प्रस्तुत गरिएको थियो ।
उल्लेखित वित्तीय आकलन तथा खाकाका आधारमा प्राधिकरणको पुनर्निर्माणसम्बन्धी समग्र कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाइने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।
बैठकमा प्रधानमन्त्री एवं प्राधिकरणका निर्देशक समिति अध्यक्ष केपी ओलीले पुनर्निर्माणको कामलाई प्रभावकारीरुपमा अघि बढाई पीडितलाई चाँडोभन्दा चाँडो छानामुनि ल्याउन निर्देशन दिए ।
उनले प्राधिकरणको पुनर्निर्माणको काम द्रुत गतिमा अघि बढिरहेको तथा पछिल्लो १ वर्षमा प्राप्त उपलब्धि महत्त्वपूर्ण रहेको भन्दै पुनर्निर्माणको काम छिटो र थप प्रभावकारी बनाउन सरकारले हरतरहले प्राधिकरणलाई सहयोग गर्ने वचन दिएको ज्ञवालीले जानकारी दिए ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडासहित विपक्षी दलका प्रतिनिधिलगायत प्राधिरणसँग सम्बन्धित पदाधिकारीको सहभागिता थियो ।