ललितपुर महानगरपालिकाले आगामी असारसम्म २ ब्रमुर खरिद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धूलो सफा गर्न ब्रुमर खरिद प्रक्रिया अघि बढाइएको हो ।
ब्रमुर खरिदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्विट्जरल्यान्डमा बनेको ब्रुमर खरिद गर्न लागेको प्रवक्ता राजु महर्जनले बताए ।
महानगरपालिकाको सहरी क्षेत्रमा धूलो सफा गर्न २ ब्रुमर पर्याप्त हुने उनले बताए । ‘नगरका भित्री क्षेत्रमा सफा गर्न २ ब्रुमर पर्याप्त हुनेछ,’ उनले भने । महानगरपालिकाले खरिद गर्न लागेको ब्रुमर काठमाडौँ महानगरपालिकाले अहिले सञ्चालन गरिरहेको जस्तै आधुनिक प्रविधिको भएको महर्जनले बताए ।
ललितपुर महानगरपालिकामा अहिले एउटा सानो ब्रुमर भए पनि सञ्चालनमा नभएको उनले बताए । ‘अहिले हामीसँग भएको पुरानो प्रविधिको ब्रुमरले धेरै धुवाँ फल्ने भएकाले वातावरण प्रदूषण गर्ने हुँदा सञ्चालनमा छैन,’ उनले भने । नगरभित्रका सडक सफा गर्न महानगरपालिकाले गाडी र कर्मचारी पनि थप्ने तयारी गरेको छ ।