उद्योग सञ्चालक र मजदुरबीच भएको सम्झौता कार्यान्वयन नभएको भन्दै मजदुरले हेटौँडास्थित बर्जर पेन्ट्स प्रालिको उत्पादन बन्द गरेका छन् ।
यसअघि २४ जना मजदुर र कर्मचारीको आवास निर्माण र मर्मतका लागि प्रतिव्यक्ति १० लाख रुपियाँ दिने उद्योग सञ्चालकले प्रतिबद्धता जनाएका थिए । २०७५ सालको मंसीरभित्रमा पूरा गर्नुपर्ने प्रतिबद्धता हालसम्म पूरा नभएको भन्दै मजदुरले उत्पादन ठप्प पारेको अखिल ट्रेड युनियन महासंघका जिल्ला सदस्य दीपक लामाले बताए । पटक पटक भएको वार्ताबाट सहमति ननिस्केपछि बाध्य भएर मजदुरहरु आन्दोलनमा आउनुपरेको उनले बताए ।
‘श्रम तथा रोजगार कार्यालयको आदेश समेत कम्पनीले पालना नगरेपछि उत्पादन ठप्प पार्ने अबस्था आएको हो’, उनले भने ।कम्पनीमा रहेको महासंघ इकाई कमिटीका अध्यक्ष अध्यक्ष उद्धवप्रसाद सापकोटाले एकहप्ता अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र दिएकामा मागको सम्बोधन नभएपछि आन्दोलन थालिएको मदजुरको भनाई छ ।