भारतको सबैभन्दा पूरानो निजी क्षेत्रको हवाई सेवा जेट एयरवेजले आफ्ना सबै सेवा बन्द गरेको छ । सन् २०१२ सम्म भारतकै सबैभन्दा शीर्ष हवाईकम्पनीका रुपमा रहेको जेट एयरवेजले बुधबार आफ्ना सबै सेवा बन्द गर्ने घोषणा गरेको हो । यसले आफ्नो अन्तिम बुधबार १०.२० को उडानबाट अमृतसरदेखि मुम्बईसम्मको यात्रा गरेको थियो ।
जेट एयरवेजले ट्वीटरमार्फत् बुधबार ४.१९ बजे आफ्ना आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्दको घोषणा गरेको थियो । चरम ऋणमा डुबेपछि यो विमानसेवा बन्द भएको हो । यसबाट झण्डै २० हजार कर्मचारी बेरोजगार भएका छन् । सन् १९९२ देखि आफ्नो व्यवसायिक उडान थालेको जेट एयरवेजमाथि ८ खर्ब (८ हजार करोड) भन्दा बढी ऋण छ । बैंकहरुले पनि यसलाई ४० अर्ब रुपियाँको इमर्जेन्सी फन्ड दिन अस्विकार गरेका थिए । यसपछि कम्पनीका लागि सेवा बन्दबाहेक अरु विकल्प नभएको बताइएको छ । पाइलटलगायत यसका कर्मचारीहरुले ३ महिनादेखि तलब नपाएको बताइएको छ ।
यसअघि नै यो एयरलाइन्सले अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको थियो । राम्रो सुविधाका कारण अधिकांश यात्रीहरुको छनौट जेट एयरवेज हुने गरेको थियो । सन् २०१२ यता बन्द हुने यो छैटौं एयरलाइन्स हो । यसअघि किंगफिसर एयरलाइन्स, एयर पेगसस, एयर कोस्टा, एयर कार्निभल तथा जुम एयर बन्द भइसकेको छ ।