आर्थिक संकटको सामना गरिरहेको भारतको जेट एयरवेजले सबै अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । अधिकांश आन्तरिक उडान पनि रद्द गरिएको छ।
उक्त एयरवेजले खाडी, दक्षिणपूर्वी एशिया तथा सार्क मुलुकका छोटो दुरीका अन्तर्राष्ट्रिय उडान रद्द गरेको थियो । बुधबार र बिहीबार यसले सिंगापुर र काठमाडौका उडानसमेत रद्द गरेको छ । बिहीबार नै यसले बाँकी एम्सटर्डम, पेरिस र लण्डनका अन्तर्राष्ट्रिय उडानहरु रद्दको घोषणा ग¥यो । जेट एयरवेजका प्रवक्ताले शनिबारबिहानसम्मका लागि लामो दुरीका उडान स्थगित गरिएको बताइन् । यसरबारेमा जेटले थप विवरण सार्वजनिक गरेको छैन ।
जेट एयरवेजले आन्तरिक उडानमा पनि कटौति गरेको छ । यसले मुम्बईदेखि कोलकाता, कोलकातादेखि गुहावटी र देहरादुनदेखि गुहावटीका उडान रद्द गरेको जनाएको छ । डिसेम्बरदेखि जेटका १२४ विमानमध्ये ८० प्रतिशत ग्राउन्डेड छन् । बिहीबार आन्तरिक उडानमा १४ विमानमात्र उडेका थिए । ऋण, आपूर्तिकर्तालाई तिर्नुपर्ने रकम, इन्धन तथा कर्मचारीलाई तलब दिनसमेत समस्या भएपछि जेट एयरवेज अहिले संकटग्रस्त छ । भारतको निजी क्षेत्रको सबैभन्दा पूरानो यो एयरवेजट अहिले ११० करोड डलर घाटामा रहेको बताइएको छ। यो भारतमा सबैभन्दा बढी विश्वास कमाएको र सन् २०१२ सम्म सबैभन्दा ठूलो विमानसेवा बनेको थियो । बिहीबारबाटै लामो दुरीका टिकट बेच्न बन्द गरिएको छ ।
आर्थिक संकटको सामना गर्न जेट एयरवेजलाई तत्काल रकमको खाँचो छ । यसले अन्तरिक ऋण कोषबाट १५०० करोड पाउने बताइएपनि अहिलेसम्म पाएको छैन । बिहीबार नै भारतीय आयल कर्पोरेशनले तेल दिन बन्द गरेको थियो ।
इत्तिहाद एयरवेजले बिहीबार जेट एयरवेजमा लगानी गर्न चासो देखाएको बताइएको छ ।