नेपाल लाइफ इन्स्योरेन्सले ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ आइतबार सार्वजनिक गरेको छ।
कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा एक कार्यक्रमका बीच उक्त बीमा योजना सार्वजनिक गरेको हो।
योजना सार्बजनिक कार्यक्रमका अवसरमा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सेवाग्राहीको चाहना अनुसार बीमा योजना ल्याइएको बताए।
उनका अनुसार यो योजनामा प्रत्येक वर्ष बीमांकको ५ प्रतिशतका दरले हुन आउने रकम बीमालेखको वार्षिकोत्सवमा भुक्तानी दिइनेछ। आजीवन जोखिम बहन गर्नु र बीमा अवधिपछि पनि समर्पण मूल्य पाउनु यस योजनाको मुख्य विशेषता भएको उनको भनाई थियो। कम्पनीका अनुसार यो योजनाका लागि न्यूनतम बीमांक रकम २ लाख रूपैयाँ कायम गरिएको छ। तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बीमांक रकम राखेर सहभागी बन्न सकिने कम्पनीले बताएको छ।
यो बीमा पोलिसी खरिदका लागि ११ वर्षदेखि ६५ वर्ष तोकिएको छ। साथै, यसमा ऐच्छिक सुविधा प्रवेश उमेरको व्यवस्था पनि गरिएको छ। यसमा दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको छ। बीमा शुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिकतम २० वर्ष रहेको यो योजनाको बीमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ। त्यस्तै, बीमाशुल्क भुक्तानी एकल, वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले बताएको छ।
एकल बीमाशुल्क योजनामा बीमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस वा एकल बीमाशुल्क रकममध्ये बढी हुने रकम बीमितले इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिनेछ। साथै सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अविध समाप्तिपछि जीवनभर कुनै पनि समयमा बीमितको मृत्यु भएमा पुनः बीमांक बराबरको रकम प्रदान गरिनेछ।
योजनामा बीमा प्रारम्भ भएको मितिले १ वर्षपछि २ वर्षको पूरा बीमाशुल्क भुक्तानी गरेपछि बीमालेखको चुक्ता मूल्य तथा समर्पण मूल्य प्राप्त हुनेछ। साथै, एकल बीमाशुल्क योजनामा बीमा प्रारम्भ भएको मितिले १३औं महिनादेखि बीमालेखको समर्पण मूल्य प्राप्त हुनेछ। समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
केही महिनाअघि ल्याएको ‘घातक रोग सुविधा योजना’ नामको योजना ल्याएर नेपाली बीमा क्षेत्रमै चर्चित बनेको यस कम्पनीले फेरि अर्को सेवाग्राहीमुखी योजना बजारमा ल्याएको थियो।