नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेको नेपाली चलचित्र 'जाइरा'ले रिलिज मिति तय गरेको छ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर २०७६ को भदौ ६ गते यो चलचित्र रिलिज हुनेछ।
एक महिलाले लिने प्रतिशोधको कथामा बनेको यो चलचित्रमा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठसहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख अभिनय रहेको छ। नव अभिनेत्री रेग्मी पनि चलचित्रमा खेलाडीको रुपमा रहेकी छिन्। नव अभिनेता मगर नम्रताको कोचको भूमिकामा छन्।
नम्रताले यस चलचित्रका लागि आफ्नो लोभलाग्दो कपाल छोट्याउनुका साथै आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बनाएकी थिइन्। चलचित्रको विषयमा बोल्दै नम्रताले भनेकी छन्,'सबै कुरा नेचुरल देखियोस् भनेर तौल घटाएँ, कपाल काटे, ६ महिना एक्सन सिकेँ। अब मैले कति मेहनत गरेको छु त्यसको मुल्यांकन गर्ने काम दर्शकको हो।'
एक्शन प्रधान 'जाइरा'लाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन्। पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन्। यो चलचित्र कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतिमा बनेको हो। प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको 'जाइरा'लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन्।
कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ।