भारतीय टेलिभिजन जीटीभीको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स’ मा उत्कृष्ट १५ मा रहेर प्रतिस्पर्धा गरिरहेका इटहरीका प्रितम आचार्यले आइतबार शानदार प्रस्तुति दिएका छन् । उनले आइतबार हिन्दी फिल्म ‘नमक हलाल’ को ‘कि पग घुंगुरु..’ गाएका थिए ।
ग्राण्ड जुरीले १०० प्रतिशत अंक दिएपछि उनको प्रस्तुति ‘चार्टबस्टर’ रह्यो । मेन्टरहरु शान, अमान मलिक र रिचा शर्माले पनि उनको प्रस्तुतिलाई मुग्धकण्ठले प्रशंसा गरेका थिए । ग्राण्ड जुरीले मन्चमै आएर प्रितमलाई उठाएर बोकेका थिए ।
प्रितम दिनप्रतिदिन भारतलगायत विश्वभर चर्चाको शिखरमा पुगिरहेका छन् । उनले उत्कृष्ट १५ मा पर्ने क्रममा गाएको ‘सन्देशा आते है’ बोलको गीतलाई बलिउड अभिनेता, अभिनेतृहरुले ट्वीटरमार्फत् प्रशंसा गरेका छन् । अभिनेता सुनिल सेट्टी, रितेश देशमुखलगायतले प्रशंसा गरेका हुन् ।