पूर्वपश्चिम राजमार्गको मनहरी बजारबाट खोला किनारैकिनार डेढ घण्टा बसको यात्रा गरेपछि पुगिने डोकोटार गाउँमा चेपाङ बालबालिकालाई कपडा लाइदिँदै गरेको अबस्थामा भेटिइन् मिस नेपाल श्रृङ्खला खतिवडा।
आकाशे रंगको सर्ट र फ्रक तथा पाइन्ट लगाएर सरस्वती प्राथमिक विद्यालयमा आएका बालबालिकाका सारथी बनेर मिस नेपाल केही दिनदेखि डोकोटारमै बसेकी छन्। विद्यालयका बालबालिकाहरुलाई व्यक्तिगत सरसफाई सिकाउनेदेखि लिएर डोकोटारमै स्वास्थ्य चौकी स्थापना गर्ने काममा केही महिनायता मिस नेपाल श्रृृंखलाको ब्यस्तता बढेको छ। त्यससँगै निर्माणाधीन स्वास्थ्य चौकीमै आयोजना हुने स्वास्थ्य शिविरमा डाक्टर तथा स्वास्थ्यकर्मीहरुको व्यवस्थापनमा पनि उत्तिकै धपेडी छ उनलाई।
पुल्चोक इन्जिनियरिङ कजेलमा आर्किटेक्ट अध्ययन गरेकी श्रृंखलाले आफ्नै डिजाइन तथा लगानीमा स्वास्थ्य चौकी भवन निर्माण गर्न सुरु गरेकी छन्। सरस्वती प्राथमिक विद्यालयमा भेटिएकी २२ बर्षीया श्रृंखलाले भनिन्–‘मिस वल्र्डको तयारीका लागि सामाजिक काममा जोडिनु पर्ने एकखालको बाध्यता त थियो नै, त्यससँगै यो मेरो शोखको काम पनि थियो ।’
उनले कैलाश गाउँपालिका ७ ताम्लाङमा स्वास्थ्य केन्द्र निर्माण गर्ने र यहाँका चेपाङहरुको दुःखलाई नजिकबाट बुझने कार्यमा कैलाश गाउँपालिकाको सहयोग र समन्वय प्राप्त गरिन्। ‘मिस नेपालको आगमनले हाम्रो गाउँ पूरै तंग्रिएको छ’, ७ नं वडाका अध्यक्ष उदास ब्लोनले भने–‘उहाँ आएपछि स्वास्थ्य, शिक्षा र सरसफाईको क्षेत्रमा परिवर्तन भइसकेको महसुस हामीले गरेका छौँ।’
आफ्नो वडामा स्वास्थ्य चौकी बनाउने तथा विद्यालयलाई सहयोग गर्ने कार्यलाई मिस नेपालले ध्यान दिएको भन्दै स्वास्थ्य शिविरको अबसरमा कैलाश गाउँपालिकाद्वारा श्रृंखला खतिवडा सम्मानित पनि भइन्। ‘स्थानीय तहले गर्नुपर्ने काममा मिस नेपालको सहभागिताले कैलाश गाउँपालिकाको इज्जत बढाएको छ’, गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले भने।
समाजसेवातिरै ब्यस्त मिस नेपाल श्रृंखलाले अबको केही समयभित्रै स्वास्थ्य चौकी निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने योजना सुनाइन्।
समाज सेवासँगै मिस वल्र्डको तयारी पनि भइरहेको छ। चीनमा हुने मिस वल्र्डका लागि नोभेम्बर १० मा श्रृंखला चीन जानेछिन्। चीनमा हुने प्रस्तुतिका लागि उनी दैनिक अभ्यासमा छिन्। उनले नेपाली मौलिक संस्कृति झल्किने नृत्य र एउटा गायनलाई प्रस्तुत गर्ने तयारी गरिहेको बताइन्। त्यसका अलावा अरु श्रृंगारिक व्यवस्थापनमा पनि उनी लागिपरेकी छिन्। भन्छिन्–‘धेरै मिहेनत गरेको छु, सबैको आशीर्वाद पनि पाएको छु। मिस वल्र्डको ताज पाएँ भने सबै नेपालीले गर्व गर्न पाउनेछन्।
स्वास्थ्य शिविरमा २७० जनाको स्वास्थ्य जाँच
मिस नेपाल श्रृंखला खतिवडाको पहलमा भएको स्वास्थ्य जाँचमा २ सय ७० जनाले जाँच गराएका छन्। उनले निःशुल्क औपधीसहितको स्वास्थ्य शिविर निर्माणाधीन स्वास्थ्य चौकीमा सञ्चालन गरेकी हुन्। चुरेहिल हस्पिटल, सहकारी हस्पिटल, लायन्स क्लव अफ मुक्तिनाथ लगायत संघसंस्थाहरुसँग समन्वयमा स्वास्थ्य शिविर भएको हो।
कार्यक्रममा संघीय सांसद विरोध खतिवडा (श्रृंखलाका बुवा), प्रदेश सांसद मुनु सिग्देल (श्रृंखलाकी आमा), प्रदेश सांसद ओमबहादुर घलान, सन्तबहादुर चेपाङ, हेटौँडा उपमहानगरपालिका उपमेयर मीना लामा, पूर्व सांसद राजाराम स्याङ्तान, कैलास गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरु, कर्मचारीहरु सहभागी थिए। यसैबीच मिस नेपाल श्रृंखलाले स्थानीय सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत ८७ जना चेपाङ छात्रछात्राका लागि नेपाल तयारी पोशाक व्यवसायी संघसँग समन्वय गरी बितरण गरेकी छिन्।