रासस कर्मचारी सङ्घले यस वर्षको वासु रिमाल यात्री पुरस्कार कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई दिने निर्णय गरेको छ।
सङ्घको आज बसेको बैठकले सो पुरस्कार बस्नेतसँगै सवारी चालक यादवप्रसाद गोतामेलाई जनही रु सात हजार ७७७ राशिको पुरस्कार दिने निर्णय गरेको सचिव छविलाल कुमालले जानकारी दिए।
गत वर्षसम्म पुरस्कारको रकम रु पाँच हजार एक रहेकोमा यसै वर्षदेखि राशि बढाइएको सङ्घले जनाएको छ। सङ्घले विसं २०६६ देखि यो पुरस्कार राससमा कार्यरत वरिष्ठ कर्मचारीलाई दिन थालेको हो।
कार्यकारी सम्पादक बस्नेत विसं २०५३ देखि २०५६ सम्म तनहुँ जिल्ला समाचारदाताका रूपमा कार्यरत थिए। उनले विसं २०५६ फागुन १९ देखि अधिकृतस्तर छैटौँ तहबाट स्थायी सेवा प्रवेश गरेका हुन्। उनले रासस सञ्चालक सदस्य, समाचार सङ्कलन शाखा प्रमुख, नेपाल पत्रकार महासङ्घको रासस प्रतिष्ठान शाखा अध्यक्ष भई काम गरिसकेका छन्। उनी हाल कार्यकारी सम्पादकका साथै प्रदेश एवं जिल्ला समाचारदाता संयोजकका रूपमा समेत कार्यरत हुनुहुन्छ।
यसैगरी, सवारी चालक गोतामे विसं २०४७ फागुन १ गते कार्यालय सहयोगीका रूपमा रासस सेवा प्रवेश गरेका हुन्। पुरस्कार राससको ६२ औँ वार्षिकोत्सवका अवसरमा आगामी फागुन ७ गते प्रदान गरिने छ।