दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले दधिराज सुवेदी भाषा साहित्य पुरस्कार र दधिराज सुवेदी राष्टिय पत्रकारिता पुरस्कारबाट सनत रेग्मी र अनन्त न्यौपानेलाई प्रदान गर्ने भएको छ।द
धिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने रु ५१०००/- (एकाउन्न हजार ) राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार-२०७९’ लामो समयदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा छदशक भन्दा बढी दिएको योगदानका लागि बांकेका वरिष्ठ कथाकार सनत रेग्मीलाई र रू २५०००/- (पच्चीसहजार ) राशिको 'दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार- २०७९' पत्रकारिताको क्षेत्रमा तीनदशकभन्दा बढी विशेष योगदान दिएका मोरङ्का वरिष्ठ पत्रकार अनन्त राज न्यौपानेलाई प्रदान गर्ने निर्णय गरिएको छ।
यस अघि उक्त पुरस्कार साहित्यकारहरू प्रा. डा.गोविन्दराज भट्टराई , प्रा.डा.अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल , डा. विष्णुविभु घिमिरे, एस्पी कोइराला र प्रा. चूडामणि बन्धुलाई र त्यसैगरी पत्रकारहरू हरिबहादुर थापा, शिववहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल र भूषण दाहाललाई प्रदान गरिएको थियो।
समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रू.पन्द्र लाख अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिंदै आएको छ। प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो। यस वर्षका पुरस्कारहरू मंसिर महिनामा एक समारोहको आयोजना गरि समर्पण गरिने जानकारी महासचिव दिङ्लाली कान्छोले गराए।