सरकारले दोलखामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी)लाई प्राथमिकताका साथ अघि बढाउने भएको छ । फिल्म सिटीको पछिल्लो अवस्था बुझ्न सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल नेतृत्वको एक टोलीले दोलखाको डाँङडुँगेडाँडास्थित निर्माण क्षेत्रको अवलोकन गरेको छ ।
शनिबार अवलोकनपछि सचिव अर्यालले प्राकृतिक सौन्दर्यता र ‘इनडोर स्टुडियो’को लागिसमेत यो स्थानमा फिल्म सिटी उपर्युक्त हुने देखिएको भन्दै सरकारले प्राथमिकता साथ काम अघि बढाउने जानकारी दिए। मन्त्रिपरिषद्ले ५ वर्षअघि भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालनका लागि निर्देशन दिएको थियो ।
सोही आधारमा एक हजार ५०० रोपनीभन्दा बढी क्षेत्रफल रहेको उक्त क्षेत्रमा फिल्म सिटी बनाउन बोर्डले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० समेत बनाइसकेको छ । सञ्चार सचिव डा अर्यालले आयोजना स्थल अवलोकनपछि उच्च पहाडी स्थानमा रहेको दुर्लभ फिल्म सिटीमध्येमा यो ठाउँ भएकाले यसको महत्व अरू बढी हुने समेत बताए।
यहाँबाट देखिने हिमालय शृङ्खला, अनेक थरी लालीगुँराससहितको फूल, चट्टान, खोलानाला र हरियालीले फिल्म सिटीलाई प्राकृतिक रुपमा समेत साथ दिने उनले बताए ।
बोर्डको संयोजनमा पुगेको अवलोकन टोलीमा मन्त्रालयका सहसचिवद्वय विनोदप्रकाश सिंह, अनिल दत्त, चलचित्र नगरी सहयोग समितिका संयोजक वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सदस्य बालकृष्ण बस्नेत र जीतबहादुर श्रेष्ठ, बोर्डका अध्यक्ष दयाराम दाहाल, सदस्यसचिव महेन्द्र साँखी, बोर्ड सदस्य प्रकाश भट्टराईलगायत थिए ।
फिल्म सिटीका अभियन्ता श्रेष्ठले राष्ट्रको गौरवको परियोजना भएकाले यसलाई कुनै हिसाबले रोक्न नहुने बताए । स्थानीयवासीको सहयोगमा जग्गा उपलब्ध गराउनेदेखि अन्य काममा समेत हातेमालो हुँदै आएकाले सरकारले ढिलो नगरी कामलाई तीव्रता दिन उनले मागसमेत गरे । उक्त परियोजनाको सम्भाव्यता अध्ययनसहितको व्यवस्थापनमा सङ्घीय सरकारले केही रकम उपलब्ध गराए पनि पर्याप्त बजेट नहुँदा चलचित्र क्षेत्रको भविष्य जोडिएको यो काममा ढिलाइ भएको उनको भनाइ छ ।