कोरोनाका कारण डेढ वर्षदेखि बन्द रहेको चलचित्र उद्योग असोज २५ गते देखि पुनः खुल्ने भएकाे छ । सरकारले एक महिना अघि भदौं १५ गते स्वास्थ्य मापदण्ड पालना गरेर चलचित्र हलहरु सञ्चालन गर्न अनुमति दिएको थियो ।
असोज २५ गतेदेखि देशैभरका फिल्महल सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल चलचित्र सङ्घका अध्यक्ष मधुसूधन प्रधानले जानकारी दिए । पहिलो चरणमा नेपाली चलचित्रबाट प्रदर्शनकाे शुरुवात गरिने भएकाे छ
सरकारले एक महिनाअघि नै हल सञ्चालन गर्न अनुमति दिए पनि लामो समयदेखि बन्द रहेको हल थप व्यवस्थापन र सरसफाइ गर्नुपरेकाले एक महिना ढिलाइ भएको अध्यक्ष प्रधानले बताए । हल सञ्चालक, फिल्म वितरक, चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, र नेपाल चलचित्र कलाकार सङ्घले व्यवसायलाई रणनैतिक ढंगले अघि बढाउने विषयमा छलफल शुरु गरेको संघले जनाएको छ ।
करोडौं रुपियाँ लगानीबाट निर्माण भएको चलचित्र रिलिज गरे पनि दर्शकको उपस्थिति नभए व्यवसायीलाई नोक्सान हुने भन्दै व्यवसायीहरुले दर्शकको मनोवैज्ञानिक त्रास हटाउन योजनाबद्ध कार्यक्रम ल्याउने समेत तयारी थालेको जनाएको छ ।
कोरोना महामारीका कारण देशभरका दुई सयभन्दा बढी हल पूर्णरुपमा बन्द रहेको सङ्घको भनाइ छ । कोरोना महामारीले चलचित्र व्यवसाय प्रभावित बनेको छ ।डेढ वर्षदेखि करिब २१ वटा चलचित्र निर्माण भएर रिलिजको पर्खाइमा रहेका छन् ।