विवाहित महिलाको लागि नेपालको सबैभन्दा ठूलो प्रतियोगिता 'मिसेस नेपाल इन्टरनेसनल' नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखि 'मिसेस नेपाल वर्ल्ड'को रुपमा आयोजना हुन लागेको छ ।
सन् २०१९ मा मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोनाको महामारीका कारण स्थगित हुन गएको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई मिसेस नेपाल वर्ल्डको रूपमा आयोजन हुन लागेको रिबन इन्टरटेनमेन्टले जनाएको छ ।
यस वर्ष मिसेस नेपाल वर्ल्डको पहिलो संस्करणको घोषणासँगै यस कार्यक्रमको बिजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्। यस वर्षदेखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मन्चबाट मिसेस नेपाल वर्ल्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एमएस नेपाल इन्टरनेसनल गरी तीन जना विजेताहरुको छनोट गर्नेछ।
यसैगरी मिसेस इन्टरनेसनल नेपाल तथा एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन्। यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ।
यसअघि सम्पन्न मिसेस इन्टरनेसनलमा सबिता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले क्रमसस् उपाधि जितेका थिए ।
कार्यक्रम सम्बन्धी विस्तृत जानकारी तथा कार्यक्रमको तालिका छिट्टै नै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने आयोजक संस्था रिबन इन्टरटेनमेन्टले विज्ञप्तिमार्फत् जनाएको छ।