गाउँ शहर सबैतिर मविवि शाहको शब्द, दीपक जंगमको संगीत र गुलाम अलीको स्वरमा रहेका गीतहरू (गाजलु ती ठूला ठूला आँखा..., किन किन तिम्रो तस्विर.... के छ र दिऊ तिमीलाई....लोलाएका ती ठूला...)चर्चाको शिखरमा थिए ।दीपक जंगमलाई चाँदनी शाह (रानी ऐश्वर्य) को एउटा गीत प्राप्त भयो र भनियो उक्त गीतलाई गुलाम अलीको भन्दा पनि चर्चित बनाउनु ।
धर्म संकटमा परे दीपक, अन्तत चुनौति सामना गर्न तयार भए । गीत लिएर गए भेट्न नारायण गोपाललाई । लामा लामा शब्दहरू राखिएको भन्दै नारायण गोपालले गीत रुचाएनन् ।दीपकले शुरुमा गीत कहाँबाट कुन उद्देश्यले आयो केही भनेनन् । तर सोही गीतको नयाँ नयाँ ट्युन लिएर उनी नारायण गोपाललाई भेट्न गइरहे । आफुले शुरुमै नरुचाएको गीतका साथ दीपक दिनहुँ धाइरेपछि नारायण गोपाल सशङ्कित भए । दीपकले सबै वस्तुस्थिति बताएपछि पनि हठी स्वभावका नारायण गोपालले गीतमा खासै चासो देखाएनन् ।
पेमला भाउजु (नारायण गोपाल पत्नी)लाई भेटी दीपकले सबै कुरा बताए । भाउजुले पनि जोड गरेपछि मात्र नारायण गोपाल गीत गाउन तयार भएको दीपक बताउँछन् । उक्त गीतलाई अन्तिम रुप दिन निकै मेहनत गरेका दीपकले २८ वटा त अलग अलग ट्युन नै तयार गरेका थिए । आज सम्म पनि उत्तिकै सुपरहिट उक्त गीत थियो, ‘एउटा मान्छेको मायाले कति....’ सुर्खेतमा राजा रानीको अगाडि नारायण गोपालले उक्त गीत गाएपछि चाँदनी शाह आफै उठेर नमस्कार गर्दै नारायण गोपाल भएको ठाउँमा गइन् र भनिन्, ‘तपाई र दीपक जंगमका कारण म जनता माझ पपुलर भए, तपाई दुवै जनाप्रति म आभारी छु ।’ नारायण गोपाल अस्वस्थ्य भएपछि स्वरसम्राटलाई जसरी पनि बचाउनु पर्छ भन्दै शाहकै पहलमा उपचारका लागि बैंकक लगिएको थियो । साभार पत्रकार निर्मल अर्यालकाे फेसबुकबाट