वरिष्ठ पत्रकार होमनाथ दाहाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७६ बाट सम्मानित भएका छन्। महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शुक्रबार सितल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ पत्रकार दाहाललाइ सम्मान गरेकी हुन्।
२०२१ सालबाट पत्रकारिता सुरु गरेका वरिष्ठ पत्रकार दाहालले लोकतन्त्र बहालीका आन्दोलनमा पटकपटक जेल यातना समेत भोगेका छन्। नेपाल पत्रकार महासंघको सभापति, गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रवन्धक समेत भएका दाहाल २०५६ मा ओखलढुंगाबाट प्रतिनिधि सभाको सांसदमा विजयी भएका थिए। उनी कृषिमन्त्री समेत भएका थिए।
यस्तै, डा. रामदयाल राकेशलाई पनि महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको छ। डा. राकेश नेपालको लोकसंस्कृतिको विषयमा पोष्ट डक्टरल रिसर्च उपाधि पाउने पहिलो व्यक्ति हुन्। नेपाली लोक संस्कृति, मिथिला संस्कृति, र हिन्दी साहित्यमा डा. राकेशका दर्जनौं कृति प्रकाशित भएका छन्।
प्रतिष्ठानले निधिकी धर्मपत्नी प्रेमसागरी देवी निधि पुरस्कार २०७६ बाट काशीदेवी झा र गिरिराजकुमारी (ज्ञानु) प्रसाईंलाई सम्मान गरेको छ। काशीदेवी सहिद दुर्गानन्दकी पत्नी हुन्। दुर्गानन्दले २०१८ सालमा जनकपुर भ्रमणका बेला राजा महेन्द्रमाथि बम प्रहार गरेका थिए।
प्रसाईं समाजवादी चिन्तक सिके प्रसाईंकी धर्मपत्नी हुन्। सम्मानित ज्ञानु प्रसाईंले सिके प्रसाईं चिन्तन प्रतिष्ठान स्थापना गरी नेपालमा लोकतान्त्रिक समाजवादको विचार आन्दोलनमा क्रियाशील रहँदै आएका छन्।
प्रतिष्ठानले हरेक बर्ष महेन्द्रनारायण निधिको स्मृतिमा समाजका उल्लेखनीय भूमिका निर्बाह गरेको व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ।