कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आफूले गरेका सबै गल्ती महसुस गर्दै माफी मागेकी छिन् ।
केहि समयअघि महानायक प्रकरणको विवादमा फसेकी उनले जन्मदिन पारेर सामाजिक संजालमार्फत अब गल्ति नगर्ने प्रण गर्दै माफि मागेकी हुन् ।
आज दीपाश्री निरौलाले आफ्नाे ४६औँ जन्मदिन मनाउदै छिन् । निरौलाले जन्मदिनको अवसरमा फेसबुकमा दर्शकको लागि भिडियो सन्देश पोस्ट गर्दै सन्देश दिएकी छन् ।
दर्शकसँग ७ मिनेट माग्दै निरौलाले लेखेकी छन्, ‘धेरै दिन देखि म तपाईँहरुसँग टाढा थिएँ, त्यसैले केही मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकी छु, आज गते पनि ७, तपाईहरुसँग ७ मिनेट मागे है !’
भिडियोमा आउनुको कारण सुनाउँदै उनलले आफू केही पुराना र केही नयाँ कुरा गर्न मन लागेर आएको बताएकी छन् ।
मिडियामा कसरी प्रस्तुत हुने, कसरी सरल हुने, मिडियामा बोल्दा चलाखिपूर्ण तरिकाले कसरी उत्तर दिने भन्ने कुरामा सिक्नु पर्ने आवश्यक रहेको बताइन् । उनले यस घटनाले आफूलाई पाठ सिकाएको पनि बताएकी छन्।
‘आँधी चलेको समयमा कसरी हिँड्नु पर्दो रहेछ भन्ने थाहा भयो र रुखबाट कुहिएको फल झरेसरी म मा भएको कमजोरी पनि झरेको छ।’
महानायक विवादलाई इंगित गर्दै उनले भनिन्, ‘मैले तीन गल्ती गरेँ, पहिलो प्रकाशजीले बोलाएको अन्तर्वार्तामा बिना तयारी गएँ, दोस्रो लगातार आरोप लाग्ने खालका प्रश्न आए र मैले आफूलाई कन्ट्रोल गर्न सकिन र मेरो शारीरिक हाउभाउमा समस्या आयो, र तेस्रो मिडियामा मैले कूटनीतिक चलाखी देखाउन सकिन र एउटा कलाकार भएर अर्को कलाकारको टिप्पणी गर्न पुगे।’
उनलाई कलाकार दीपकराज गिरीले अन्तर्वार्ता राम्रो भएन भनेको पनि उल्लेख गरेकी छन् ।