गायक निशान भट्टराइको गए राति सवारी दुर्घटनामा परी निधन भएको छ। दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा गायक भट्टराइको तीनकुनेमा सवारी दुर्घटना भएको हो। आज बिहान पौने १ देखि १ बजेको बीचमा उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको प्रहरीले अनुमान गरेकाे छ।
गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको र बिहान ४ : ४५ मा उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दियाे।
उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ। उनको पशुपति आर्यघाटमा आजै दिउँसो १ बजे अन्त्येष्टि गरिने छ। उनी गायिका लोचन भट्टराइका भाइका साथै दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टका सञ्चालकसमेत हुन्।