हरेक वर्ष विवादित हुँदै आए पनि यस वर्षको विद्यापति पुरस्कार घोषणा गरिएको छ । योगदानका आधारमा नभई आवेदनका आधारमा विभिन्न विधामा ५ जनालाई पुरस्कार दिने घोषणा भएसँगै यस वर्ष पनि विवाद देखिएको हो ।
यो वर्ष पुरस्कारका लागि १५ जनाले मात्र आवेदन दिएपछि त्यसमध्ये ५ जनालाई छनोट गरिएको हो ।
मैथिली महाकवि विद्यापतिको स्मृति दिवसका अवसरमा घोषणा भएको पुरस्कारमा नेपाल विद्यापति मैथिली भाषा-साहित्य पुरस्कार यसपटक धनुषाको रघुनाथपुरका चन्द्रशेखर उपाध्यायलाई दिने निर्णय गरिएको छ ।
त्यस्तै नेपाल विद्यापति मैथिली कला-संस्कृति पुरस्कार धनुषाको धनौजीका लक्ष्मण मण्डल, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार सुनसरीका शिवनारायण पण्डित, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरीका दिनेश यादव र नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार धनुषाका उपेन्द्र नागवंशीलाई दिने निर्णय भएको विद्यापति पुरस्कार कोषले जनाएको छ ।
नेपाल विद्यापति मैथिली भाषा-साहित्य पुरस्कारको राशि २ लाख छ भने बाँकीको १-१ लाख रुपैयाँ छ । पुरस्कार २०६८ देखि वितरण हुँदै आएको हो ।