गायक दुर्गेश थापाको विवादित ‘तिहार गीत’ अन्ततः युट्युबबाट हटाइएको छ । प्रहरीको अनुरोधमा गीत हटाएको गायक थापाले बताएका छन् ।
गीतविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा थापा आजै गोंगबुबाट पक्राउ परेका थिए । ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको हो । उनले युट्युबबाट गीत हटाएसँगै उनलाई पनि प्रहरीले तत्काल रिहा गरिदिएको थियो ।
थापाको गीतले देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको र संस्कृति बिगारेको आरोप लागेको छ । युट्युबमा राम्रो भ्युज बटुले पनि आलोचना निकै भएको थियो ।
‘बीच्च बीच्चमा’ बोलको तीज गीतबाट चर्चामा आएका थापा यसअघि चलचित्र ‘छ माया छपक्कै’ को प्रवर्द्धनात्मक गीत गाउँदा पनि विवादमा मुछिएका थिए ।