बलिउड सुपर स्टार सलमान खानका पूर्वअंगरक्षकले भारतको उत्तर प्रदेशस्थित मुरादाबादमा आतंक मच्चाएका छन् । उनले ओभरडोज औषधि खाँदा मुरादाबादको मुगलपुरा सडकमा रहेका सवारीसाधन तोडफोड गर्नुका साथै पैदल हिँडिरहेका बटुवाहरुमाथि पनि कुटपिट गरेका छन् ।
सलमान र उनका भाइ सोहेलका अंगरक्षक भइसकेका अनस कुरेशीको यस्तो हर्कतले प्रहरीलाई नियन्त्रणमा लिन केहीबेर हम्मे-हम्मे भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनलाई पक्रन केही उपाय नलागेपछि अन्त्यमा प्रहरीले जाल हानेरै नियन्त्रणमा लिएको हो । प्रहरीले कुरेशीमाथि जाल हानेर पक्राउ गर्दाबखतको तस्बिर अहिले सामाजिक सञ्जालमा समेत उत्तिकै भाइरल बनेको छ । मुगलपुराको पिरगैबमा बस्ने कुरेशीले प्रहरीको एउटा मोटरसाइकलमाथि पनि तोडफोड गरेका छन् ।
जाल हानेर पक्राउ परेका कुरेशीलाई अहिले उपचारका लागि अस्पताल लगिएको छ । सलमान र सोहेलका पूर्वअंगरक्षक कुरेशी अहिले भने एक नेताको अंगरक्षक छन् ।