चलचित्र अध्ययनका लागि नेपालमा नयाँ क्याम्पस स्थापना भएको छ । चलचित्रमा ४ वर्षीय स्नातक अध्ययनका लागि आइतबारबाट ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको हो । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी नेपाल फिल्म क्याम्पसमा यसै शैक्षिकसत्रबाट स्नातकको अध्ययन सुरु गराउन लागेको क्याम्पस प्रमुख शिशिर उप्रेतीले जनाए ।
काठमाडौंको बानेश्वरमा रहेको क्याम्पसबारे गरिएको पत्रकार भेटघाटमा उप्रेतीले कलेजले फिल्म अध्ययनका लागि भर्ना सुरु आरम्भ गरेको जनाए । नेपाली मात्र नभएर दक्षिण भारतीय तथा अन्य देशका विद्यार्थी लक्षित गरी क्याम्पस सञ्चालनमा ल्याएको उनले बताए । यसअघि फिल्म अध्ययनका लागि नेपालमा एउटा मात्र कलेज भएकाले यसपटकबाट आफूहरूले पनि सुविधा सम्पन्न कलेज सञ्चालनमा ल्याएको उप्रेतीको भनाइ थियो ।
कलेजले चलचित्र लेखन-निर्देशन, दृष्य सम्पादन, छायाकन, अभिनय र ध्वनिसम्बन्धी ५ विषयमा स्नातक गराउनेछ । उप्रेतीका अनुसार कलेजमा हलिउड, बलिउडसहित श्रीलंका, भुटान र नेपालका फिल्मविज्ञहरूले अध्यापन गराउनेछन् ।
अग्रज छायाकार मञ्जुकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको फिल्म क्याम्पस नेपालमा स्थापना हुनु खुसीको खबर भएको बताए । कलेजले सिनेमाका दक्ष व्यक्तिहरू नेपाली चलचित्र उधोगको लागि उत्पादन गर्ने विश्वास उनले व्यक्त गरे । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले गुणस्तरीय चलचित्र शिक्षाका लागि स्थापना भएको कलेजले नेपाली चलचित्र उद्योगको विकासमा टेवा पु¥याउने विश्वास लिएको बताए ।